४ केजी सुनसहित पक्राउ परेका ३ जनालाई अदालतबाट म्याद थप

आश्विन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
४ केजी सुनसहित पक्राउ परेका ३ जनालाई अदालतबाट म्याद थप

दोलखा । चार केजी सुनसहित पक्राउ परेका दोलखाका तीन जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धानअघि बढाएको छ ।

दोलखाको बिगु गाउँपालिका ३, जामुनेबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको ४ किलो सुनसहित ३ जनालाई बुधबार राति पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिगु गाउँपालिका १ का २८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र २० वर्षीय माधव मगर छन् ।

इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सुराकीका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ। तस्करीको आरोप लागेका अन्य फरार छन् ।

फरार रहेकाहरूसँग तस्करीको सुन हुनसक्ने अनुमानमा खोजी गरिरहेको प्रहरीले जनाएको छ । आइतबारबाट रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपाल भित्रिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.