दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ

आश्विन ११, २०८० |केदार शिवाकोटी
दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ

फाइल तस्बिर

दोलखा । दोलखाको विगु गाउँपालिका-३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको छ ।

प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

स्रोतकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भत्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । चार पिस पहेलो धातुसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार (आज) प्रहरीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराउने तयारी गरेको छ । आइतबारदेखि चीनको रोङजिया र कोल्दुम सीमा नाका चीनले एक साताका लागि खोलिदिएको छ । तर यी नाकाबाट सुन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन् । चीनले बन्द गरेको लप्ची नाकाबाटै तस्करले सुन भित्र्याएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ ।  


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।