गृहको आदेशपछि अछामको सीमामा रोकिएका विदेशी गन्तव्यमा जान थाले

आश्विन ३, २०८० |खम्म खत्री
गृहको आदेशपछि अछामको सीमामा रोकिएका विदेशी गन्तव्यमा जान थाले

अछाम । अछामको विभिन्न सीमा नाकामा एक सातादेखि रोकिएका विदेशीहरुलाई गन्तव्यमा जान दिइएको छ । गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई छाडिएको अछाम प्रहरीले जनाएको छ ।

अछामको रामारोशन घुम्न भनेर आएका १२ देशका नागरिकलाई एक सातासम्म सीमामा रोकिएको थियो । उनीहरुसँग रामारोशन क्षेत्रमा लामो समयसम्म बस्ने अनुमति नभएको भन्दै रोकिएको अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोख्रेलले जनाए ।

‘उनीहरुलाई सर्तसहित छाडिएको छ,’ उनले भने । कानुनविपरीत गतिविधि गरे पक्राउ गर्नू भनेर गृह मन्त्रालयले भनेकाले उनीहरुलाई छोडिएको प्रजिअ पोखरेलको भनाइ छ । ‘नेपालको कानुनविपरीत गतिविधि गरेको पाइए कारबाही प्रक्रियामा लगिनेछ,’ उनले भने । प्रजिअ पोख्रेलले सुरक्षाका लागि छिमेकी जिल्लाबाट सुरक्षा बल मगाउने कुरा भइरहेको जानकारीसमेत दिए ।

वर्ड रेन्डो फेमली समूह नाममा नेपाल आएका उनीहरुसँग १ देखि ३ महिना सम्मलाई नेपाल बस्न भिसा रहेको बताइएको छ । रामारोशन आएकामा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन र थाइल्यान्डलगायत मुलुकका नागरिक छन् । उनीहरु रामारोशनमा एक महिनासम्म टेन्ट हालेर बस्नेछन् । अहिले करिब २८३ जना आएको र थप दुई हजारभन्दा बढीको संख्यामा हुने उनीहरुले प्रशासनलाई बताउने गरेका छन् ।

रामारोशन पर्यटन विकास समिति अछामकी कार्यकारी निर्देशक गंगाकुमारी कुँवरले स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर उनीहरुको निगरानी गरिने जानकारी दिइन् ।

यता पर्यटनको प्रचार-प्रसार गर्ने नेपाल पर्यटन बोर्डले भने पर्यटकहरु यसरी जम्मा हुनु सुदूरपश्चिमको पर्यटन विकासमा महत्त्वपूर्ण हुने जनाएको छ । संघदेखि स्थानीय तहसम्मले प्रचार-प्रचार गर्दासमेत पर्यटक बढ्न नसकेको समयमा एकैपटक हजारौंको संख्यामा विदेशी पर्यटक आउनुलाई सकारात्मक लिनुपर्ने बोर्डका निर्देशक मणिराज लामिछानेको तर्क छ ।

रामारोशन सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि भौतिक पूर्वाधारको अभावमा विदेशी पर्यटकहरु त्यहाँ निकै न्यून पुग्न सकेका थिए ।

यो पनि...

रामारोशन हिँडेका दुई सय विदेशी पर्यटकलाई बाटोमै रोकियो, ४ दिनदेखि अलपत्र

१२ देशका नागरिक विनाअनुमति रामारोशन पुगे


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।