संविधान संशोधन गर्दै तेस्रो कार्यकाल सुरक्षित गर्ने दाउमा अमेरिकी राष्ट्रपति ट्रम्प

माघ ११, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
संविधान संशोधन गर्दै तेस्रो कार्यकाल सुरक्षित गर्ने दाउमा अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकामा राष्ट्रपतिको कार्यकालको सीमा बढाउने गरी संविधान संशोधन प्रस्ताव पेश भएको छ । राष्ट्रपति डनल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेलगत्तै रिपब्लिकन सांसदले संयुक्त सदनमा संविधान संशोधनको प्रस्ताव पेश गरेका हुन् ।

रिपब्लिकन सासंद एन्डी ओगल्सले राष्ट्रपतिको कार्यकालको समय सीमा बढाउने प्रावधानसहितको संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको हो । यो प्रस्ताव पास भएमा कुनै पनि एक व्यक्ति अधिकतम् तीन कार्यकालसम्म अमेरिकाको राष्ट्रपति बन्ने मौका पाउने छन् ।

२२औँ संशोधनअनुसार अमेरिकामा हाल कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउने छैनन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पुनरागमन गरेपछि संविधान संशोधनको विषय अघि बढेको हो । संविधान संशोधन प्रस्ताव राष्ट्रपति ट्रम्पको फाइदाका लागि ल्याइएको बताइएको छ ।

प्रस्ताव पेश गर्दै कांग्रेस सदस्य एन्डी ओगल्सले यो संशोधनले राष्ट्रपति ट्रम्पलाई तीन कार्यकाल सेवा गर्न अनुमति दिने बताउनुभएको छ । अमेरिकाका लागि अत्यन्त आवश्यक पर्ने साहसी नेतृत्वलाई कायम राख्न आफूले प्रस्ताव अघि बढाएको उहाँको भनाइ छ।

संविधान संशोधनको प्रस्तावमा कुनै व्यक्ति तीन पटकसम्म राष्ट्रपतिको पदमा दाबेदारी दिन पाउने व्यवस्था गरिएको छ । तर लगातार दुई पटक राष्ट्रपतिमा निर्वाचित व्यक्तिले भने तेस्रो कार्यकालका लागि दाबी गर्न पाउने छैनन् ।

ट्रम्पको यो दोस्रो कार्यकाल हो । अब संविधान संशोधन भएमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुला हुने छ । संविधान संशोधन गर्न ५० राज्यमध्ये ३८ राज्य सरकारले अनुमति दिनुपर्ने हुन्छ ।



Enter Kantipur TV HD
Advertisement