१२ देशका दुई हजार बढी नागरिक विनाअनुमति रामारोशन पुगे

भाद्र २९, २०८० |खम्म खत्री
१२ देशका दुई हजार बढी नागरिक विनाअनुमति रामारोशन पुगे

अछाम । एकैपटक १२ भन्दा बढी देशका नागरिक विनाअनुमति अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन पुगेका छन् ।

ठूलो संख्यामा सरकारको इजाजतबिना आएका ३९ विदेशीलाई ताल प्रवेशमा रोक लगाएको र अन्य २२ जनालाई अछामका सीमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

विनाअनुमति रामारोशन पुगेका विदेशीमा भारत, अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन र थाइल्यान्डलगायत देशका नागरिक रहेको र बाँकीको अनुसन्धान भइरहेको पाठकको भनाइ छ ।

यहाँ आएका विदेशीहरुले रामारोशनमा कार्यक्रम गर्नलाई कहीँ-कतैबाट अनुमति लिएका छैनन् : प्रजिअ पोखरेल

उनीहरुको अनुमतिबारे रामारोशन पर्यटन बोर्डलाई समेत कुनै जानकारी नभएको बोर्डकी निर्देशक गंगा बुढाले जनाइन् । रामारोशन आएका विदेशीले एक महिनादेखि तीन महिनासम्मको भिसा लिएको र उनीहरुले कतैबाट अनुमति नलिएको अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको भनाइ छ ।

रामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेका यस्ता विदेशीको संख्या दुई हजारभन्दा बढी रहेको स्थानीयले जनाएका छन् । उनीहरुबारे स्थानीय प्रशासनले जानकारी नपाएको जनाएको छ ।

उनीहरु रामारोशनमा कार्यक्रम गर्नलाई कहीँ-कतैबाट अनुमति नलिएको प्रजिअ पोखरेलले जनाए । पोखरेलका अनुसार उनीहरुले आफूहरुको संख्या दुई हजारभन्दा धेरै रहेको र अरु पनि आउँदै गरेको जनाएका छन् ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।