रामारोशन हिँडेका दुई सय विदेशी पर्यटकलाई बिच बाटोमै रोकियो, चार दिनदेखि अलपत्र

आश्विन १, २०८० |खम्म खत्री
रामारोशन हिँडेका दुई सय विदेशी पर्यटकलाई बिच बाटोमै रोकियो, चार दिनदेखि अलपत्र

अछाम । अछामको रामारोशन घुम्न आएका १२ देशका नागरिक अछामको सीमा नाका चौखेट्टे र बेलखेतमा चार दिनदेखि अलपत्र परेका छन् । उनीहरुका केही साथी रामारोशन पुगिसकेका छन् भने केही अछामको सीमा नाका चौखुट्टे, बेलखेतमा चार दिनदेखि रोकिएका छन् ।

स्थानीय प्रशासनकाअनुसार उनीहरुसँग एकदेखि तीनमहिनासम्म नेपाल बसाइको भिसा रहेको छ । तर उनीहरु धेरै संख्यामा रहेको र एक महिनाभन्दा बढी समय रामारोशनमा बस्ने भनेपछि रोकिएको स्थानीय प्रशासनले जनाएको छ । हाल रामारोशनमा ५४ जना, जयगढमा ५ , चौखट्टेमा १२६ र बेलखेतमा १६ जनालाई रोकिएको प्रहरीले जानकारी दिएको छ ।

रोकिएका विदेशी पर्यटकहरु हाल सीमा क्षेत्रमा टेन्ट हालेर बसेका छन् । विदेशी नागरिकलाई बिच बाटोमै अलपत्र पर्ने गरी प्रहरी प्रशासनले रोक्दा सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रममै असर पुग्ने स्थानीय तुलबहादुर साउदले बताए ।

भिसा प्रक्रिया पूरा गरेर नेपाल आइपुगेका पर्यटकलाई देशका अन्य कुनै ठाउँमा छेकबार नहुनु तर अछामको सीमा नाकामा मात्र रोकिनुमा जिल्ला प्रशासन कार्यालय अछामको कमजोरी रहेको स्थानीय भानसिंह साउद बताउँछन् ।

रामारोशन पर्यटन विकास बोर्डकी कार्यकारी निर्देशक गंगाकुमारी कुँवरले ठूलो संख्यामा एक्कासी विदेशी पर्यटक आउँदा सुरक्षाको दृष्टीकोणले प्रहरी प्रशासनले रोक लगाएको जनाइन् । तर रामारोशन पर्यटन बोर्डले सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरी समस्याको निकासका लागि पहल गरिरहेको जानकारी दिइन् ।

रामारोशन आउने विदेशी नागरिकमा भारत, अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्वीडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन र थाइल्यान्डलगायतका नागरिक छन् । उनीहरुले एक महिनासम्म रामारोशनमा बस्ने जनाइएको छ । उनीहरुले आफूहरुको संख्या दुई हजारभन्दा बढी हुने जानकारी दिएका छन् ।

एक महिनासम्म बस्दा सुरक्षा र पर्यावरणका हिसाबले प्रभाव पर्ने तथा एक महिनासम्म बस्नलाई अनुमतिसमेत नलिएका कारण रोकिएको अछाम प्रहरीले जनाएको छ।

भिडियो...


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।