काभ्रे । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामलेकमा लागेको भीषण वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार डढेलो नियन्त्रणमा लिन सिम्रिक एयरको हेलिकप्टरसमेत परिचालन भएको छ । तर मंगलबार दिउँसोबाट लागेको डढेलो अझै निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सामुदायिक वनको भिरमा आगो लागेको कारण दमकल लैजान नसक्ने अवस्था भएपछि आगोलागी ४ दिन सम्मपनि नियन्त्रणमा आउँन नसकेको हो । स्थानीय तथा पर्यटक व्यवासायी ट्रेकर संजय लामा भने जंगलमा आगोलागेका कारण थुप्रै बन्यजन्तु तथा जडिबुटी नस्ट भएको बताउनु हुन्छ । स्थानीय सरकार र अन्य निकायले आगोलागी नियन्त्रणका लागि खास चाँसो नदेखेको उहाँको आरोप छ ।
स्थानीय पर्यटन व्यवासायी कमल नेपालले पनि आगोलागी नियन्त्रण गर्न भौगोलिक अवस्था कारण कठिनाई भएको बताउनु भयो । आगोले करिब २० किमी भन्दा धेरै क्षेत्र जलेको उहाँको भनाइ छ ।
यता पालिकाले बेथान्चोक नारायण स्थान जाने पर्यटकलाई रोक लगाएको छ । अहिले प्रशासनको सहयोगमा हेलिकप्टरबाट आगो निभाउने र सेना समेत परिचालन भएको बेथान्चोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।
आगोलागी नियन्त्रणमा हेलिकप्टर परिचालन भएता पनि पूर्ण नियन्त्रण आउँन सकेको छैन । सरोकारवालाको ध्यान समयमै नजाने हो भने आगो मानव बस्तीसम्मै पुग्न सक्छ । तसर्थ समयमै तिनै तहका सरकारको ध्यान जान जरुरी छ ।