यू-१९ टी-२० महिला विश्वकपमा सकियो नेपालको यात्रा

माघ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ टी-२० महिला विश्वकपमा सकियो नेपालको यात्रा

काठमाडौं । नेपालले जितसहित आइसीसी महिला अन्डर नाइन्टिन टी-२० विश्वकप समाप्त गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराएको हो ।

जारी विश्वपकमा यो नेपालको पहिलो जित हो । नेपालको जितमा कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन रह्यो । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोलीले १६ ओभर ५ बलमा अलआउट हुँदै ४५ रन मात्र जोड्न सक्यो ।

मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान पूजाले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए । यससँगै पूजा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएकी छन् । उनले ४ खेलमा ९ विकेट लिएकी छन् ।

जवाफमा नेपालले ४६ रनको लक्ष्य ११ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । साना प्रविन १, सावित्री धामी ३ र ज्योत्सिका मरासिनी ७ रनमा आउट भए पनि कप्तान पूजा र सिमाना केसीले ३३ बलमा अविजित २५ रनको साझेदारी गरेपछि नेपाल विजयी भएको हो । पूजा २३ र सिमाना ४ रनमा अविजित रहे ।

मलेसियाका लागि सुआबिकाले ३ विकेट हात पारिन् । समूह चरणमा दुबै टिम सबै खेलमा पराजित भएका थिए । यससँगै नेपालले १६ मध्ये १४ औं स्थानमा रहेर डेब्यू विश्वकप समाप्त गरेको छ । सन् २०२७ मा हुने तेस्रो संस्करणको विश्वपकमा नेपाल सह आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement