काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्रिभुवन विमानस्थल बाहिरबाट नौ सय ६० ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न एकजना भने फरार भएका छन् ।
काठमाडौं प्रहरी परिसरका उपरीक्षक कुमुद ढुंगेलका अनुसार उक्त सुन दुबईबाट नेपाल भित्रिएको हो । उनले कान्तिपुर टेलिभिजनसँग भने, ‘उनीहरुलाई विमानस्थलमा लिन पुगेको व्यक्तिको खोजी भइरहेको छ ।’
प्रहरीका अनुसार तस्करहरुले मलद्वारमा लुकाएर सुन भित्र्याएका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।