काठमाडौं । अष्ट्रेलियामा आज संसदीय निर्वाचन भइरहेको छ । त्यहाँका १ करोड ८० लाख मतदाताले आगामी प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछन् ।
सर्वेक्षणहरूका अनुसार यो निर्वाचन वामपन्थी प्रधानमन्त्री लेबर पार्टीका नेता एन्थोनी अल्बानिजका पक्षमा जाने सम्भावना छ । उहाँलाई कन्जरभेटिभ लिवरल नेसनल गठबन्धनका पिटर डटनले कडा टक्कर दिने आँकलन छ । यसैबीच, विज्ञहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अस्थिर कूटनीतिप्रति चिन्ताका कारण मतदाताहरूमा परिवर्तनको चाहनामा केही कमी आएको बताएका छन् ।
अनिवार्य मतदान प्रणाली रहेको केही लोकतन्त्रिक मुलुकहरूमध्ये अस्ट्रेलिया पनि एक हो । त्यहाँ स्थानीय समयअनुसार बिहान ८ बजे मतदान केन्द्रहरू खुलेका छन् । १ करोड ८० लाख योग्य मतदातामध्ये कीर्तिमानी ८० लाखले मतदानको दिनभन्दा अघि नै मतदान गरिसकेका छन् ।
दुवै ठूला दलले महँगीका समस्यालाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
राजनीतिक रणनीतिकारहरूले ट्रम्पको व्यापार नीति अस्ट्रेलियाको चुनावको निर्णायक कारक नहुने दाबी गरेका छन् । सन् २०२२ को निर्वाचनमा प्राथमिक मत लगभग समान रूपमा बाँडिएको थियो जसमा लेबरले ३२ दशमलव ६ प्रतिशत, लिबरल-नेशनलले ३५ दशमलव ७ प्रतिशत र अन्य दलले ३१ दशमलव ७ प्रतिशत पाएका थिए ।