अपराधमा चिनियाँको लहरो : गैंडाको खागदेखि सुन प्रकरणसम्म

श्रावण २७, २०८० |रमेश धमला
अपराधमा चिनियाँको लहरो : गैंडाको खागदेखि सुन प्रकरणसम्म

काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानपछि एक क्विन्टल सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध जोडिएको भन्दै थप अनुसन्धानको जिम्मा प्रहरीलाई लगायो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले सुन ल्याउने सञ्जालको खोजी गरिरहेको छ । तर यस पटकको सुन तस्करीमा संलग्न मानिएका चिनियाँहरुको सञ्जाल भने जटिल देखिएको छ । यसअघि नै नेपाल आएर अपराधमा मुछिएका चिनियाँ मूलका भारतीय नागरिकसमेत सुन तस्करीमा जोडिएको खुलेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सबै विवरण गोप्य राखेर छानबिन गरिरहेको छ । राजश्व अनुसन्धान विभागले एक तहको तथ्य संकलन गरेर दिएको विवरणका आधारमा ब्यूरोले हङकङबाट सुन पठाउनेदेखि भारतसम्म लैजाने र लगानी गर्ने सबै तह पत्ता लगाउनुपर्ने छ ।

विभागले पक्राउ गरेर बुझाएका १८ जनामध्ये एक जना चिनियाँ र दुई चिनियाँ मूलका अन्य देशका नागरिक छन् । उनीहरुसँग सुन तस्करको संयन्त्र जोडिएको देखिएको छ ।

नेपालमा यसअघि नै गम्भीर अपराधमा मुछिएका व्यक्तिसमेत सुन तस्करीमा जोडिएको खुलेको छ । चिनियाँ मूलका थुप्तेन छिरिङ नेपालमा यसअघि नै गैंडाको खाग तस्करीमा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

गृह स्रोतबाट प्राप्त तथ्यअनुसार २०६७ साल पुस १९ गते थुप्तेन गैंडाको खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले चलाएको मुद्दामा थुप्तेनलाई १० वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो । उनलाई २०७१ साल चैत १६ गते केन्द्रीय कारागारमा ल्याइएको थियो।

थुप्तेनको स्वभाव सहज नदेखिएपछि असोज १९ मा नख्खु कारागार चलान गरिएको थियो । थुप्तेनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले उनको कैद सजाय ७ वर्षमा झारेपछि २०७४ साल वैशाख १९ गते रिहा भए । अध्यागमन कार्यालयले उनलाई पाँच वर्षको प्रतिबन्ध लगाएर देश निकाला गरेको थियो । तर नेपाली भाषामासमेत दख्खल थुप्तेनको अहिले सुन तस्करीको मुख्य आरोपितका रुपमा पक्राउ परेका दावासँग निकट सम्बन्ध देखिएपछि नेपाल आएको देखिएको छ ।

दश वर्षअघि नै गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिले नेपालमा आएर फेरि सुन तस्करीको धन्दा चलाएपछि नेपालमा चिनियाँ मूलका नागरिकको आपराधिक सञ्जाल खोज्नुपर्ने चुनौती सीआईबीलाई छ ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार अहिले पक्राउ परेका चिनियाँ राहदानी बोकेका लिन, चिनियाँ मूलका दावा छिरिङ र थुप्तेनबाहेक अन्य पनि चिनियाँ नै जोडिएको देखिन्छ । त्यसैका आधारमा विभागले केहीलाई कालोसूचीमा राखेर विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको थियो । त्यसैका आधारमा शुक्रबार लि जिया लिङ र लिउ फुयान आमा–छोरालाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेर सीआईबीको जिम्मा लगाए पनि उनीहरुको संलग्नता नखुलेपछि रिहा भएका छन् ।

त्यस्तै सुनमै संलग्नता रहेको आशंका गरिएका व्यवसायी राकेश अडुकियाका छोरा रोहन पनि राजश्व अनुसन्धान विभागले राखेको कालोसूचीका आधारमा अध्यागमनले नियन्त्रणमा लिए पनि उनको संलग्नता नखुलेपछि रिहा गरिएको छ ।

सीआईबीसँग अब सुन प्रकरणको अनुसन्धान गर्न एक महिना मात्रै समय बाँकी छ । यो अवधिमा हङकङ नेक्सससमेत खोज्ने गरी इन्टरपोलसँग समन्वय गर्ने गरी सीआईबीले अनुसन्धान अघि बढाएको छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।