गल्छी-त्रिशूली-मैलुङ खण्डको निर्माण सुस्त

श्रावण १४, २०८० |राजकृष्ण श्रेष्ठ
गल्छी-त्रिशूली-मैलुङ खण्डको निर्माण सुस्त

नुवाकोट । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडकअन्तर्गत पहिलो चरणमा निर्माण भइरहेको गल्छी-त्रिशूली-मैलुङ खण्डको ३६ किलोमिटर सडक कालोपत्रेसहित ८० प्रतिशत काम पूरा भएको छ ।

२०७२ सालको भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबीच रसुवागढी नाकाबाट हुने कारोबार सहज बनाउन आयोजनाको पहिलो चरणअन्तर्गत गल्छी-त्रिशूली-मैलुङ सडक २०७३ सालबाट निर्माण थालिएको हो । निकै सुस्त गतिमा काम भइरहेको गल्छी-त्रिशूली-मैलुङको ४६ किलोमिटरमध्ये हाल ३६ किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कालोपत्रे भएको हो ।

‘४६ किलोमिटर खण्डमा ३६ किलोमिटर कालोपत्रे भइसकेको छ । यो भनेको झन्डै ८० प्रतिशत काम पूरा भएको हो,’ गल्छी-रसुवागढी सडक आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले भने ।

सामुदायिक वनको रुख कटान तथा मुआब्जा विवादलगायत समस्याका कारण कामको गति सुस्त छ । धादिङको गल्छीदेखि नुवाकोटको बेत्रावतीसम्म दोहोरो लेनको सडक आसफाल्ट प्रविधिमा कालोपत्रे भएको छ । २०७३ कात्तिक अन्तिममा ठेक्का लागेको यो सडक सम्झौताअनुसार २०७५ साल भदौ ७ गते निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । सडक तीन अर्ब ६३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको हो ।


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।