बाढी पहिरोलाई लक्षित गरी उद्धार उपकरण तयारी अवस्थामा

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
बाढी पहिरोलाई लक्षित गरी उद्धार उपकरण तयारी अवस्थामा

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरो र डुबानको सम्भावित क्षति आकलन गरेर २ सय ५० वटा उपकरण तयारी अवस्थामा राखेको छ ।

मन्त्रालयले बाढी-पहिरो र भू-क्षयबाट मानवीय र भौतिक संरचनामा हुन सक्ने क्षति कम गर्न सातै प्रदेशमा विभिन्न उपकरण तथा बेलिब्रिजहरु तयारी अवस्थामा राखिएको जनाएको हो ।

गत वर्ष वर्षातको समयमा दुर्इ सय स्थानमा पहिरो जाँदा २ सय ५० पटक राष्ट्रिय तथा सहायक राजमार्गहरु अवरुद्ध भएको तथ्यांक मन्त्रालयसँग छ । यस वर्ष पनि जोखिम युक्त क्षेत्र पहिचान गर्ने काम भइरहेको दाबी मन्त्रालयले गरेको छ ।

स्थानीय तहहरुले अन्यन्त्रित तरिकाले शाखा सडक खन्दा वर्षातको समयमा राष्ट्रिय राजमार्गहरुमा असर पर्ने गरेको छ । यता उर्जा, सिँचार्इ तथा जलस्रोत मन्त्रालयले पनि वैज्ञानिक ढंगले सडक पूर्वाधार निर्माण नहुँदा बर्खाको समयमा आयोजनाहरुको भौतिक क्षति बढ्ने गरेको जनाएको छ ।

म‌नसुन सुरु भएसँगै मुलुकभरका विकासे आयोजना प्रभावित हुने गरेका छन् । कतिपय निर्माणाधीन आयोजनाको कम रोकिएको छ भने कतिपय प्राकृतिक विपत्तिको चपेटामा परेका छन् । सरकारी निकायहरु एक अर्कालार्इ आरोप लगाउँदै पन्छिने गरे पनि कति आयोजना प्राकृतिक विपदको जोखिममा छन् भन्ने तथ्यांक कसैसँग छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.