कपिलवस्तु । कपिलवस्तुको प्राचीन तिलौराकोटमा विदेशी विज्ञसहितको नेपाली टोलीले उत्खनन गर्दा ऐतिहासिक महत्त्वका ठूला पुरातात्त्विक संरचना भेटिएको छ । १५० मिटर लम्बाइ र चौडाइ भएको बिहारको संरचना भेटिनुले प्राचीन समयमा तिलौराकोट एक समृद्ध र विकसित सहर भएको आधार पुष्टि हुँदै गएको पुरातत्त्वविद् बताउँछन् ।
कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न बेलायतको डुर्हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न टोलीले अध्ययन अन्वेषण थालेको हो । यस वर्ष तीन ठाउँमा उत्खनन गरिएको छ । पूर्वी द्वारको पूर्वतिर दुई ठाउँमा सुरक्षा पर्खाल मोठको बाहिर र कन्थक स्तूपको दक्षिण उत्खनन गरिएको छ ।
एक महिना लामो उत्खननमा कन्थक स्तूपको दक्षिणतिर १५० वाई १५० मिटर लम्बाइ/चौडाइ भएको विहारको संरचना भेटिएको छ । उत्तरी भाग उत्खनन गर्दा विहारको संरचना स्पष्ट देखिएको पाइएको छ ।
यसले तिलौराकोटमा अर्को ठूलो संरचना थपिँदा यो ठाउँ प्राचीन समयमै विकसित र ऐतिहासिक सहर रहेको पुष्टि हुन्छ । यहाँ उत्खनन हुँदा इँटाले बनेको स्तूप र दुईवटा पोखरी पनि फेला परेको छ । पोखरी र विहारका पर्खाल ईशापूर्व तेस्रो शताब्दी मौर्यकालका इँटाबाट बनेको पाइएको छ । उत्खनन हुँदा ४२ सेन्टिमिटर लामो माटोको गजुर, माटोको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पाइएका छन् ।
‘यस वर्षको उत्त्खनन गत वर्षकै स्लट ट्रेन्च वान र टूको साथसाथै ट्रेन्च थ्री, फोर, फाइभ र सिक्स गरी उत्तरी संरचनाको क्षेत्रमा गरेका थियौं भने । अहिलेको क्षेत्रमा तीनवटा ट्रेन्च खनेका थियौं,’ पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत विष्णु पाठकले कान्तिपुर टेलिभिजनसँग भने ।
त्यस्तै पूर्वी द्वारको पूर्वतिर दुई ठाउँमा सुरक्षा पर्खाल मोठको बाहिर उत्खनन गर्दा ९ वटा पोस्ट होल भेटिएको छ । इँटाको प्रयोग हुनु पहिले काठबाँसको खाँबो प्रयोग गरेर भुईंमा गाडेको ठाउँलाई पोस्ट होल भनिन्छ । ऐतिहासिकता प्रमाणित गर्न पोस्ट होल निकै महत्त्वपूर्ण मानिन्छ । त्यहाँ फेला परेका संरचना कति पुरानो भनेर कालक्रम निर्धारणका लागि माटोको नमुना परीक्षण गर्न बेलायत पठाइएको छ ।
‘स्तूपभन्दा दक्षिणतर्फ पनि उत्खनन गर्दा दुईवटा पोखरीका भग्नावशेष प्राप्त गरेका छौं भने केही स्तूप पनि प्राप्त भएको छ । विहारको संरचनाहरु प्राप्त भएको छ,’ लुम्बिनी विकास कोषका प्रमुख पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘उत्खननका क्रममा महत्त्वपूर्ण पुरातात्त्विक अन्य वस्तुहरु पनि प्राप्त भएका छन् ।
युनेस्कोको समन्वयमा जापान सरकारको जापानिज फन्ड इन ट्रस्टको सहयोगमा उत्खनन भएको हो । उत्खननमा बेलायतको डुर्हाम विश्वविद्यालयका पुरातत्त्वविद् प्रोफेसर र विद्यार्थी १५ जना, पुरातत्त्व विभागका र लुम्बिनी विकास कोषका १५ विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी थिए । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल भएको बौद्ध धर्मावलम्बी निकै महत्त्वपूर्ण मान्छन् ।