काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजिप्ट र कतार सरकारसँग विशेष कूटनीतिक पहल गरिदिन पुनः आग्रह गर्नु भएको छ ।
आज इजिप्टका लागि नेपाली राजदूत नोहा हमदी अहमद एलगेबलीसँगको भेटमा उहाँले इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गर्न आग्रह गर्नुभएको हो । सोही क्रममा उहाँले कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोनमार्फत सम्पर्क गरी यो मुद्दामा कतार सरकारको पहल आवश्यक रहेकोले सहयोगका लागि अनुरोध गर्नुभएको मन्त्री डा. राणाका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार, कतारमा रहेका राजदूत अन्सारीले यो विषयमा कतारका विदेश मन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका ३४ जना व्यक्तिहरूलाई रिहा गर्न लागेको समाचार आएपछि नेपाल सरकारले विपिनको पनि रिहाइका लागि इजिप्ट र कतारसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने माग गर्दै सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान पनि जारी रहेको छ । यसै क्रममा परराष्ट्र मन्त्रालयले दुवै देशसँग विशेष पहलका लागि आग्रह गरिरहेको छ ।
यसअघि परराष्ट्र मन्त्री डा. राणाले इजरायली राजदूत समुलिक एरी वाससँग भेट गरी इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । त्यस क्रममा राजदूत वासले गत जुलाईमा पठाएको पत्र अनुसार हमास आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका र नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिहरूलाई रिहा गर्न तयार भएको कुरा सञ्चारमाध्यममा आएको परराष्ट्र मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
परराष्ट्र मन्त्री डा. राणाले भने यसै चरणमा विपिनको पनि रिहाइका लागि पहल गरिदिन इजरायल सहित मध्यस्थताकर्ता देशहरू इजिप्ट र कतार सरकारसँग समेत आग्रह गर्नुभएको हो । उहाँले दुई तीन दिनभित्रै दुवै देशका मन्त्रीहरूसँग समेत कुराकानी गर्ने प्रयास गरिरहनु भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायली भूमिमा हमासले गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउनु परेको थियो भने विपिन जोशीलाई हमास समूहले अपहरण गरी लगेको थियो । त्यसयता नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ, क्षेत्रीय मञ्चहरू र द्विपक्षीय बैठकहरूमार्फत विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिरहेको छ ।