भारत भ्रमणको इतिहास : कुन प्रधानमन्त्रीका पालामा केके भयो ?

जेष्ठ १८, २०८० |अमृत दाहाल
भारत भ्रमणको इतिहास : कुन प्रधानमन्त्रीका पालामा केके भयो ?

काठमाडौं । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि एकपटक भारत भ्रमणमा जाने परम्पराजस्तै बसिसकेको छ । २०४७ सालका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसम्म भारत भ्रमणको क्रम निरन्तर छ ।२०४७ यता प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कस्ता सहमति-सम्झौता भए ? एकपटक समीक्षा गरौं ।

नेपाल र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण भइरहेको पृष्टभूमिमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ जेठ २५ देखि २७ सम्म ३ दिने भारत भ्रमण गरेका थिए । त्यतिबेला दुई देशबीच एक अर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको भूमिका निर्वाह गर्ने सहमति भएको थियो । भट्टराईको भ्रमणपछि दुई देशबीचको सम्बन्ध सहज भयो ।

आम निर्वाचन २०४८ पछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले २०४८ मंसिर १९ देखि २४ गतेसम्म भारत भ्रमण गरे । त्यसबेला व्यापार, पारवहन, कर्णाली–सप्तकेाशी बहुउद्देश्यीय तथा टनकपुर सम्झौता अघि बढाउने निर्णय भयो, जुन विवाद अदालतसम्म पुग्यो ।

त्यस्तै, २०५१ को मध्यावधि निर्वाचनपछि पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ चैत २७ देखि २०५२ वैशाख १ सम्म भारत भ्रमण गरे । उक्त भ्रमणमा पहिलो पटक सन् १९५० को नेपाल-भारत सन्धि पुनरावलोकनबारे कुरा उठ्यो ।महाकाली नदीको पानी उपयोगबारे दुई देशबीच गम्भीरतापूर्वक छलफल गर्ने सहमति पनि त्यसबेला भएको थियो ।

मनमोहनपछि सरकारको नेतृत्व लिएका शेरबहादुर देउवाले २०५२ माघ २८ देखि फागुन ५ गतेसम्म भारतको भ्रमण गरे । त्यसबेला पनि १९५० को सन्धि पुनरवलोकनको छलफललाई निरन्तरता दिने र पन्चेश्वरमा लगानी आकषिर्त गर्नेबारे सहमति भएको थियो । दुवै मुलुकले आतंकवादविरुद्ध एक अर्काको भूमि उपयोग गर्न नदिने प्रतिबद्धता पनि जनाएका थिए ।

त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद प्रसाद कोइरालाले २०५७ साउन १ देखि ६ गतेसम्म भ्रमण गरे । त्यसबेला महाकाली सन्धि कार्यान्वयनमा लैजाने र १९५० को सन्धि पुनरवलोकनबारे छलफल गर्न परराष्ट्र सचिवहरुलाई जिम्मा दिने सहमति भयो ।

फेरि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २०५८ चैत ७ देखि १२ गतेसम्म भारत भ्रमण गरे । त्यतिबेला पूर्वपश्चिम रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र १९५० को सन्धि पुनरवलोकन गर्न सचिवस्तरीय छलफललाई निरन्तरता दिने सहमति भयो ।

देउवाले २०६१ मा पुनः प्रधानमन्त्री नियुक्त भएपछि भदौ २३ देखि २७ गतेसम्म पुन: भारत भ्रमण गरे । त्यसबेला पनि १९५० को सन्धि पुनरवलोकन गर्न उच्चस्तरीय छलफलाई निरन्तरता दिने सहमति भयो । यसका साथै माओवादी द्वन्द्व चरमउत्कर्षमा पुगेको समय भएकाले आतंकवादविरुद्ध लड्ने पनि सहमति भएको थियो ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा नियुक्त भएका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले भने भारत भ्रमण गरेनन् । २०६२/६३ को लोकतन्त्र पुनःस्थापनापछि कार्यवाहक राष्ट्र प्रमुखको भूमिकामा रहेका गिरिजाप्रसाद कोइरालाले २०६३ जेठ २३ देखि २६ गतेसम्म भारत भ्रमण गरे । उनलाई स्वागत गर्न तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह विमानस्थलमै पुगेका थिए ।

कोइरालालाई त्यतिबेला भारतले उच्च सम्मान दिँदै दक्षिण एशियाकै नेताको उपमा दिएको थियो । त्यतिबेला दुई देशबीच, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा दुई पक्षीय साझेदारीको सहमति भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनपछि पुष्पकमल दाहालले २०६५ भदौ २९ देखि असोज २ गतेसम्म पहिलोपटक भारत भ्रमण गरे । उक्त भ्रमणका अवसरमा राप्तीको नौमुरे जलविद्युत परियोजना निर्माण,१९५० को सन्धि पुनरवलोकन, कोशीको बाढीले पुर्‍याएको क्षतिको न्युनीकरणलगायतका विषयमा सहमति भएको थियो।

त्यस्तै, २०६६ भदौ २ देखि ६ गतेसम्म माधवकुमार नेपालको भारत भ्रमणका अवसरमा वैदेशिक व्यापारका लागि विशाखापटनम बन्दरगाह प्रयोग गर्ने, १९५० को सन्धि पुनरवलोकन गर्ने र पन्चेश्वर परियोजना अघि बढाउने सहमति भयो ।

बाबुराम भट्टराईले २०६८ कात्तिक ३ देखि ६ गतेसम्म गरेको भारत भ्रमणका क्रममा बिप्पा सम्झौता हुनुका साथै १९५० को सन्धि पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिको समूह इपीजी गठन गर्ने सहमति भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ सालमा भारत भ्रमण गरे भने २०७२ मा संविधान जारी भएपछि दुईपक्षीय सम्बन्ध चिसिएकै बेला केपी शर्मा ओलीले २०७२ फागुन ७ देखि १२ गतेसम्म भारत भ्रमण गरे । त्यसबेला १९५० को सन्धि पुनरवलोकन, विशाखापटनम बन्दरगाह नेपालले प्रयोग गर्नेलगायतका ७ बुँदे सहमति भएका थिए ।

आम चुनाव २०७४ पछि ओलीले दोस्रोपटक २०७४ चैत २३ मा भारत भ्रमण गरे । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन तेस्रोपटक २०७६ जेठ १६ भारत गएका थिए ।

पछिल्लोपटक २०७८ चैत १८ मा शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । त्यसअवसरमा दुवै मुलुका प्रधानमन्त्रीले जनकपुर-जयनगर रेल्वे सेवा उद्घाटन गरेका थिए भने दुवै मुलुकबीच ४ बुँदे सम्झौता भएको थियो । 

थप...

नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मूको शिष्टाचार भेट
सीमासम्बन्धी विवाद पनि समाधान गर्छौँ : प्रधानमन्त्री मोदी


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनको डेस्कमा कार्यरत छन् ।