विमानस्थलमा कीर्तिमानी आरोही बुढामगरको भव्य स्वागत (फोटो फिचर)

जेष्ठ ९, २०८० |पशुपति बुढाथोकी
विमानस्थलमा कीर्तिमानी आरोही बुढामगरको भव्य स्वागत (फोटो फिचर)

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ ।

सगरमाथा आरोहणपछि मंगलबार काठमाडौं आइपुगेका बुढामगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलमै पुगेर भव्य स्वागत गरे । साथै उनलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । योसँगै उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्यटनमन्त्री किरातीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको जनाए । उनले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिएको धारणा राखे ।

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगर काठमाडौं फर्किए

‘नतमस्तक छु, भावुक छु, म मात्रै नभइ सारा नेपाली नै गौरववान्वित हुनुहुन्छ । उहाँलाई सम्बोधन गर्ने कुनै शब्द नै छैन । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हरि बुढामगर मात्रै होइन, नेपाल र नेपाली जनताको तर्फबाट विश्वलाई नै नयाँ सन्देश दिएर आउनुभएको छ,’ मन्त्री किरातीले भने, ‘उहाँको चाहना र मिहिनेतले सगरमाथा चढ्नुभएको छ । सरकार तपाईंको साथमा छ ।’

सञ्चारकर्मीसँग कुरा गर्दै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खुसी व्यक्त गरे ।

‘यो मैले एक्लै गरेर भएको होइन, यसमा मेरो टिम छ, यसमा उहाँहरुले आफ्नो ज्यानको बाजी राखेर चढाउनुभएको छ,’ उनले भने, ‘नेपाल सरकारदेखि सम्पूर्ण संसारको कुनामा भएकाहरुले साथ दिनुभएको छ । शारीरिक अशक्तहरुलाई दया, मायाभन्दा पनि अवसर दिनुहोला ।’

त्यसअवसरमा आरोही बुढामगरले शारीरिक अशक्त भएकाहरुलाई दया, माया नभइ अवसर प्रदान गर्न आग्रह गरेका थिए ।


Image

पशुपति बुढाथोकी

बुढाथोकी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement