दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगर काठमाडौं फर्किए (तस्बिरसहित)

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगर काठमाडौं फर्किए (तस्बिरसहित)

काठमाडौं । दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि आज (मंगलबार) काठमाडौं आइपुगेका छन् ।

जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेर हरिले कीर्तिमानी कायम गरेका छन् । उनले सगरमाथाको चुचुरो चुम्ने पहिलो (डबल एम्प्युटी एभोब नी अर्थात घुँडा माथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व कीर्तिमान कायम गरेका हुन् ।

(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झन्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने हरिको सपना थियो। सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं’ । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा थिए । थापाले बेलायतको स्पेसल एयर सर्भिस (एसएएस) को माउन्टेन ट्रुप लिडरका रुपमा २४ वर्ष सेवा गरेका थिए ।

यो पनि...

विश्व कीर्तिमानी आरोही कामीरिताले चढे २८औँ पटक सगरमाथा
सगरमाथा आरोहणमा दुवै खुट्टा गुमाएका हरि बुढामगरको विश्व कीर्तिमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement