धनकुटा । मुलुकका ६४ जिल्ला हेर्ने धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रममा लामो समयदेखि कृषि वैज्ञानिक, प्राविधिक अधिकृत र सहयोगी कर्मचारी नै छैनन् ।
नेपाल कृषि अनुसन्धान परिषद्ले दरबन्दीका कृषि वैज्ञानिक र प्राविधिक नपठाउँदा सुन्तला जात फलफूलको, जातीय परीक्षण, अनुसन्धान र प्रविधि विकासको काम प्रभावित भएको छ ।
सुन्तला जात फलफूलको अनुसन्धान र प्रविधि विकासका लागि २०१८ सालमा धनकुटाको पारिपात्लेमा यो कार्यालय स्थापना भएको हो । जुनार, सुन्तला र कागती खेती भइरहेका मुलुकका ६४ जिल्ला यसका कार्य क्षेत्र हुन् । तर अनुसन्धान र प्रविधि विकासमा मुख्य भूमिका भएका अधिकांश कृषि वैज्ञानिक, प्राविधिक अधिकृत र सहयोगी कर्मचारीको दरबन्दी पाँच वर्षदेखि खाली छ ।
कृषि वैज्ञानिकसहित विभिन्न ३७ दरबन्दीमध्ये अहिले आठ जना मात्रै कार्यरत छन् । २९ जनाको दरबन्दी खाली छ । वैज्ञानिक र प्राविधिक नहुँदा कार्यक्रमको मुख्य जिम्मेवारीका रोगकीरा, माटो, बाली व्यवस्थापन, प्रजनन, भण्डारण र प्रशोधन तर्फका सबै काम प्रभावित छन् ।
अहिले कार्यक्रमको हातामा सुन्तलाका ३२ र जुनारका ३६ सहित ज्यामिर, कागती, भोगटे जस्ता अमिला जात फलफूलका १ सय ५४ जातप्रजाति माथि अनुसन्धान चलिरहेको छ । सुन्तलाजात फलफूल खेतीमा देखिने किसानका समस्या र गुनासा पनि उत्तिकै छन् । तर उनीहरूका समस्यामा समाधान दिने प्राविधिक समेत छैनन् ।
नार्कमा पदपूर्ति सम्बन्धी विनियम संशोधन नहुँदा दरबन्दीका कर्मचारी अभाव भएको बताइएको छ । कार्यरत वैज्ञानिक, प्राविधिक र अरु कर्मचारीहरू पनि सरुवा तथा सेवा निवृत्त भएर जाँदा थप पद रिक्त भएका हुन । जतिसक्दो छिटो कृषि वैज्ञानिक र प्राविधिकको व्यवस्था गरी सुन्तलाजात अनुसन्धान र प्रविधि विकासका कामलाई गति दिनु आवश्यक छ ।