हुम्लाका ६ परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ विद्यार्थी एसईईमा सहभागी

चैत्र १७, २०७९ |जनकबहादुर शाही
हुम्लाका ६ परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ विद्यार्थी एसईईमा सहभागी

हुम्ला । शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हुम्लाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ परीक्षार्थी सहभागी छन् । 

कोरोनापछि जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू पनि जिल्लामै फर्किएर पढ्न थालेपछि परीक्षार्थीको सङ्ख्या बढी देखिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिए । दुई वर्ष लगातार कोरोना महामारीका कारण पठनपाठन बन्द हुँदा जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थी  जिल्लामै आएर एसईई दिने भएपछि उक्त संख्या बढेको हो ।

हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा २ सय ५६ जना र मानसरोवर माविमा १ सय ८० जना परीक्षार्थी सहभागी छन् । त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा २ सय ५३ जना र कोटमावि रोडिकोटमा १ सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १ सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २ सय ४० जना परीक्षार्थी गरी जिल्ला भरिबाट १ हजार २ सय ३४ जना परीक्षार्थी एसईई दिने भएका हुन् । 

हुम्लाबाट ६ सय ६० जना छात्र र ५ सय ७४ जना छात्राले एसईई परीक्षा दिँदै छन् । जसमा साधारणतर्फ १ हजार १ सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेड वृद्धितर्फ ६ जना परीक्षार्थी छन् । 

गत वर्ष हुम्लाबाट १ हजार १ सय ३६ जना परीक्षार्थीले एसईई दिएका थिए ।

सम्बन्धित समाचार...

एसईई आजबाट सुरु, ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।