रोल्पामा विद्युत् विस्तारको काम अलपत्र, ठेकेदार कम्पनी बेपत्ता (भिडियो रिपोर्ट)

चैत्र १४, २०७९ |मीनराज रोका
 रोल्पामा विद्युत् विस्तारको काम अलपत्र, ठेकेदार कम्पनी बेपत्ता (भिडियो रिपोर्ट)

रोल्पा । रोल्पाका ३२ प्रतिशत घरधुरीमा अझै पनि बिजुली पुगेको छैन । तर जिल्लामा ठेकेदार कम्पनी र विद्युत प्राधिकरण दुवैको लापरबाहीले विद्युत विस्तारको काम अलपत्र छ । ठेकेदार कम्पनीहरूले करोडौँ रकम लिएर सम्पर्कविहीन हुँदासमेत सरोकारवाला निकाय मुकदर्शक बनेको छ । गाउँमा पोल गाड्न थालेपछि बिजुली आउने भयो भन्दै खुशी भएका स्थानीय ५ वर्षसम्म बिजुली नबल्दा निराश भएका छन् ।

रोल्पाका विभिन्न गाउँमा विद्युत विस्तार गर्ने जिम्मा लिएको त्रिपुरेश्वरी विभान्सु जेभि काठमाडौंले समयमै काम नगर्दा जिल्लामा विद्युतीकरण अलपत्र छ । १८ महिनाभित्रै काम सम्पन्न गर्ने गरी २०७७ मंसिर ३० गते ४० करोड लागतमा सम्झौता गरेको यो निर्माण कम्पनीले २८ महिनासम्म पनि काम सुरु गरेको छैन तर पेस्की रकम भने साढे ६ करोड लिइसकेको छ । निर्माण कम्पनी हाल सम्पर्कविहीन छ । त्यस्तै पिपुलस (पिपुल्स) निर्माण सेवाले पाँच वर्षअघि सुनछहरी गाउँपालिकामा विद्युत विस्तारको ठेक्का पायो । गाउँमा पोल गाड्न थालेपछि बिजुली आउने भयो भन्दै खुशी भएका स्थानीयहरू बिजुली बल्ने सुरसारै नभएपनि निराश छन् ।

त्रिपुरेश्वरी र पिपुलस मात्र होइन अनु निर्माण सेवाले पनि विद्युत विस्तारमा सम्झौताअुनसारको काम गरेको छैन । यो निर्माण सेवाले सुनछहरी, थवाङ र परिर्वतन गाउँपालिकामा विद्युत विस्तारको जिम्मा लिएको थियो । तर विद्युतीय सामग्री जथाभावी फँयााकेको यो कम्पनी पनि साइटमा भेटिदैन । विद्युत प्राधिकरण भने निर्माण कम्पनीलाई पटकपटक काम गर्न ताकेता गर्दा पनि अटेरी गरेको निरीह जवाफ दिन्छ ।

जिल्लामा झिमरुक जलविद्युत आयोजनाअन्तर्गत केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार हुन लागेको हो । विद्युत विस्तारका आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा काममा ढिलाइ भएको देखिएकाले यसमा विद्युत प्राधिकरणको पनि कमजोरी छ । 


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।