ए डिभिजन लिगमा कस्तो लय लेला चर्च ब्वाइज युनाइटेडले ?

फाल्गुन १९, २०७९ |गणेशमान मुखिया|रेबन दाहाल
ए डिभिजन लिगमा कस्तो लय लेला चर्च ब्वाइज युनाइटेडले ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तयारीका क्रममा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले  विभिन्न प्रतियोगितामा सहभागिता जनायो ।  

पोखराको आहा–रारा गोल्डकपमा सेमिफाइनलसम्म पुग्दा ए डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई हराउँदै यो टिमले सनसनी मच्चाएको थियो । अघिकांश युवा खेलाडीलाई लिएर खेल्ने तयारीमा रहेको चर्चले ए डिभिजन लिगमा कस्तो लय लिने हो भन्ने चासो फुटबल प्रेमी माझमा छ ।

नवप्रवेशी चर्च ब्वाइज युनाइटेड खेलाडी अनुबन्धदेखि तीव्र गतिमा सहिद स्मारक ए डिभिजन लिगको तयारी गर्ने क्लब हो । २०७६ सालमा सी डिभिजनको क्वालिफायर्स जितेको चर्च ब्वाइज युनाइटेडले २०७७ सालमा सी डिभिजन र ७८ सालमा बी डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनसम्मको यात्रा गरेको थियो । 

यसपटक चर्च ब्वाइजले डेब्यु मै उपाधि जित्ने लक्ष्य बनाएको छ । लिग च्याम्पियन बने चर्चले मनाङ मर्स्याङ्दी क्लबले २०४० को दशकमा सी डिभिजन क्वालिफायर्सदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्दै राखेको कीर्तिमान बराबरी गर्नेछ ।

राष्ट्रिय टिमका मिडफिल्डर अन्जन खड्का प्रेरित चर्चसँग डिफेन्डर अनन्त तामाङ र एरिक विष्ट मुख्य हतियार हुन् । आशिष चौधरी, प्रशान्त लक्सम, आशिष चापागाईँ, विकु राई, सन्तोष तामाङ जस्ता युवा खेलाडी लिगमा डेब्यु गर्नेछन् । अन्जन भने भारतीय लिगमा व्यस्त रहेकाले सम्भवतः पहिलो चरणको लिग सकिएपछि मात्र टिमसँग आबद्ध हुनेछन् । 

चर्च ब्वाइजले लिगका लागि अनुबन्ध गरेका तेज तामाङ र दिनेश राजवंशीले पलायनको बाटो रोजे । यिनीहरूको अभाव पूर्ति गर्न गगनदिप सिंह, फ्रान्क्लीन क्वोटो जस्ता विदेशी खेलाडीलाई लिग खेलाउने प्रयासमा क्लब छ । प्रशिक्षकको टुंगो भने अझै लागेको छैन । 

नेपाली घरेलु फुटबलका ४० भन्दा बढी खेलाडी पलायन भएपछि लिगका लागि खेलाडी अभाव छ । यसले ए डिभिजनका १४ वटै क्लबलाई समस्या छ । तर चर्च ब्वाइजले केही युवालाई डेब्यू गराउँदै छ । 

लिगको अन्तिम तयारी मानेर जारी केपी ओली कपमा सहभागिता जनाइरहेको चर्च ब्वाइजले फागुन २० गते नेपाल पुलिस क्लबसँग खेल्दै ए डिभिजनको थालनी गर्नेछ । केही अनुभवी र धेरै युवा खेलाडीबीच तालमेल मिलाएर अप्रत्याशित नतिजा ल्याउने क्लबको योजना सफल होला त ?

सम्बन्धित समाचार...

सहिद स्मारक ए-डिभिजन लिगको नयाँ सिजन आज साँझ साढे ५ बजे देखि


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।

Image

रेबन दाहाल

दाहाल कान्तिपुर टीभीमा खेलकुद ब्युरोमा कार्यरत छन् ।