चितवन । चितवनको फिस्लिङबाट शक्तिखोरसम्मको ग्रामीण सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस सडकलाई मुग्लिङ-नारायणगढ सडकखण्डको वैकल्पिक मार्गका रुपमा हेरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको ४५ किलोमिटरको दूरी रहेको ग्रामीण सडक निर्माणको काम अन्तिम चरणमा छ । सिङ्गल लेनको यो सडक निर्माण भइरहँदा धेरै मानिसले यसलाई चासोका साथ हेरेका छन् । किनभने लामो समयदेखि निर्माण चलिरहेको नारायणगढ-मुग्लिङ सडक पटकपटक अवरुद्ध हुने गरेको छ । यो सडकखण्डमा बारम्बार सास्ती ब्यहोरेका यात्रुले फिसलिङ-शक्तिखोर सडकलाई मुग्लिङ-नारायणगढ सडकको विकल्पको रूपमा पनि प्रयोग गर्न सकिने देखका छन् भने सडक क्षेत्रका बासिन्दाले विकासको ढोका खुल्ने आशा राखेका छन् ।
साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिने यस सडकको निर्माण व्यवसायीलाई जिम्मा दिएको ९० प्रतिशत काम सकिएको छ । पहाड काटेर बनाएकाले यो सडकमा पनि पहिरोको जोखिम छ । त्यसँगै अधिक उकालो भएको कारण ४ ठाउँमा सडक कालोपत्रे गरिएको छैन । त्यस्तै खोलाखोल्सामा पुल बनाउन बाँकी छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत ८७ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको यो सडकको कालोपत्रको काम सँगै सडक सङ्केत राख्ने काम सकिएपछि यो सडक भएर यात्रा गर्न सकिनेछ । निर्माण हुन बाँकी ४ खण्डलाई पनि बनाएर र पुल बनाउने कामलाई गति दिनसके साना तथा हल्का सवारी प्रयोगकर्ताले यो सडकलाई नारायणगढ-मुग्लिङ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् ।
यही क्रममा सडक निर्माणले गति लिएमा आगामि वर्षातको समयमा निर्माणाधिन नारायणगढ मुग्लिन सडकको वैकल्पीक सडकका रुपमा प्रयोग गर्न सकिने छ ।