भोजपुर । पर्यटकसम्बन्धी सूचना दिन भन्दै भोजपुरको टक्सारमा १० वर्षअघि सरकारले पर्यटन केन्द्र बनाउने निर्णय गरेको थियो । पर्यटन सूचना केन्द्रको भवनसमेत बनाइयो । तर एक दशक बितिसक्दा पनि पर्यटक केन्द्र बनाउने काम त अघि बढेन नै बनेको भवन पनि प्रयोगविहीन छ ।
भोजपुर नगरपालिका वडा नं. १२ टक्सारमा २०७० सालमा बनेको पर्यटन सूचना केन्द्रको भवन प्रयोगविहीन छ । पर्यटन सूचना केन्द्रका लागि भनेर ५० लाख रुपैयाँ लागतमा बनाइएको यो भवन प्रयोगमै नआइ जीर्ण बनेको छ । तत्कालीन पाँच विकास क्षेत्रमा ६ वटा पर्यटन सूचना केन्द्र कार्यालय बनाउने पर्यटन बोर्डको निर्णय अनुसार पूर्वाञ्चलका लागि भोजपुरमा चार कोठे यो भवन बनाइएको थियो । तर, भवन बनेपछि पर्यटन सूचनाका लागि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीय बताउँछन् ।
स्थानीय समाजसेवी धिरेन्द्र श्रेष्ठले भन्छन्, ‘पानीसहितको सबै व्यवस्था भइसकेको थियो । अहिलेसम्म पनि त्यो संरचना लथालिंग अवस्थामा छ । कम्पाउन्ड सुरक्षित नै छ । त्यहाँ केही गर्न सकिने सम्भावना छ ।’
यस्तै स्थानीय नारायणप्रसाद घिमिरे सरकारले यसलाई चाँडोभन्दा चाँडो सञ्चालन गर्नु पर्ने बताउँछन् ।
त्यसो त भवनको प्रयोग कसरी गर्ने भन्नेमासमेत सरकारी निकायहरु अन्योलमा छन् । यो भवन प्रयोगमा ल्याउन २०७५ सालमा जिल्ला प्रशासन कार्यालय भोजपुरले पर्यटन मन्त्रालयमा पत्राचार गरेको थियो । तर अहिलेसम्म मन्त्रालयले कुनै निर्णय दिएको छैन ।
निर्माण भएदेखि नै प्रयोगमा नआएको यो भवनमा कुनै सरकारी कार्यालय राखेर सदुपयोग गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।