साढे १५ वर्ष पूरानो थियो दुर्घटना भएको यति एयरलाइन्स

माघ १, २०७९ |कान्तिपुर टीभी संवाददाता
साढे १५ वर्ष पूरानो थियो दुर्घटना भएको यति एयरलाइन्स

कास्की । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको यति एयरलाइन्सको एटी आर विमान साढे १५ वर्ष पुरानो भएको पाइएको छ ।

विश्वका विमानहरूको एयर ट्राफिक ट्र्याक गर्दै आएको फ्लाइटराडार ट्वेन्टी फोरका अनुसार वाई टी सिक्स नाइन वान-कल साइन भएको विमानले सन् २००७ को अगस्ट १ का दिन पहिलो उडान भरेको थियो । यसअघि यो विमान भारतको किंगफिसर र थाइल्यान्डको नोक एयरले उडाएका थिए । किंगफिसरले २००७ को अगस्ट १७ देखि उडाउन थालेकोमा २०१२ को सेप्टेम्बरमा ग्राउन्डेड भएको थियो ।

किंगफिसर एयरलाइन्स अहिले बन्द भइसकेको छ । त्यसपछि २०१३ अप्रिल १ देखि थाइल्यान्डको नोक एयरले उडायो । सन् २०१८ को अगष्टमा पनि यसलाई मर्मतका क्रममा ग्राउन्डेड गरिएको थियो । यति एयरलाइन्सले भने यसलाई २०१९ को अप्रिल २६ मा ल्याएर उडाउन थालेको थियो । विमान फ्रान्सको एटीआर कम्पनीमा निर्माण गरिएको थियो ।

फ्लाइटराडार ट्वेन्टी फोरले विमान उडेको ८ मिनेटमै विमानको रेडियो संकेत प्राप्त गर्ने उपकरण ट्रान्सपोन्डरले काम गर्न छाडेको जनाएको छ । विमानको ट्रान्सपोन्डर पुरानो भइसकेको र त्यसले उपलब्ध गराउने डाटा पनि विश्वास गर्न नसकिने खालको भएको फ्लाइटराडार ट्वेन्टी फोरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.