१४ वर्षपछि भतिजा हत्याका फरार अभियुक्त सन्तबहादुर सार्की पक्राउ

अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाइएकाे प्रहरीकाे भनाइ
जेष्ठ २७, २०८२ |माधव अर्याल
१४ वर्षपछि भतिजा हत्याका फरार अभियुक्त सन्तबहादुर सार्की पक्राउ

पाल्पा । अंशसम्बन्धि विवादमा आफ्नै भतिजाको हत्या गरी फरार भएको १४ वर्षपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले माथागढी गाउँपालिका-१, चिदीपानीका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पक्राउ गरेको छ ।

सार्कीले आफ्नै दाजुको छोरा १८ वर्षीय नरबीर नेपाली (सार्की)को २०६८ साल कार्तिक ११ गते रातीको समयमा हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । सन्त बहादुर २०६८ सालदेखि फरार सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

भारतका दिल्ली, हरियाणालगायतका स्थानमा लुकिछिपी काम गरी बसेको र नेपाल फर्किँदै गरेको भन्ने सूचनाका आधारमा जेठ २५ गते आइतबार बेलहिया बसपार्क भैरहवा रूपन्देहीबाट उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

प्रहरीले सन्तबहादुर बेलाबखतमा नेपाल आउने गरेको भन्ने सूचना प्राप्त गरेको र सोही सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनलाई सिद्धार्थनगर नगरपालिका-१, बेलहियामा नियन्त्रणमा लिन सफल भएको हो । 

जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो । सन्तबहादुरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पाल्पाबाट फौजदारी कार्यबिधी संहिता, २०७४ को दफा १४(१)बमोजिम थप अनुसन्धान गरिएको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।