काठमाडौं । वेस्टइन्डिजका स्टार टी-२० ब्याट्सम्यान निकोलस पूरनले २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
ट्रिनिडाडका पूरनले आफ्नो देशका लागि १ सय ६७ खेल खेलिसकेका छन् । तर अब उनले आफ्नाे ध्यान आर्थिक रूपमा लाभदायक फ्रेन्चाइज लिगहरूमा केन्द्रित गर्ने बताएका छन् ।
भारतीय प्रिमियर लिग-आईपीएलमा लखनऊ सुपर जायन्ट्सबाट खेलेपछि विश्रामको कारणले उनले हाल इङ्ग्ल्यान्डविरूद्ध जारी टी-२० श्रृंखला गुमाएका थिए । यसै वर्ष उनी मेजर लिग क्रिकेट एमएलसी र द हण्ड्रेडमा पनि खेल्ने तयारी गरिरहेका छन् ।
वेस्ट इन्डिजले पूरनका उपलब्धिहरूको सम्मान गर्छौं भन्दै उनको योगदानलाई धन्यवाद दिएको छ । पूरनले सोमबार वेस्ट इन्डिज क्रिकेट बोर्डलाई आफ्नो सन्यासको जानकारी गराएका थिए ।
उनले पछिल्लो पटक सन् २०२४ को डिसेम्बरमा बंगलादेशविरूद्ध टी-२० खेलेका थिए । तर जुलाई २०२३ यता एकदिवसीय ओडीआई खेलेका छैनन् भने टेस्ट क्रिकेटमा समेत अवसर पाएका छैनन् ।
उनले टी-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजबाट सबैभन्दा बढी १ सय ६ खेल खेलेका छन् । र, २ हजार २ सय ७५ रनसहित सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् । हालै दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले पनि यस्तै गरी फ्रेन्चाइज लिगहरूमा ध्यान केन्द्रित गर्दै अन्तर्राष्ट्रिय क्रिकेट छाडेका थिए ।