धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सुझाव संकलनका लागि सर्वपक्षीय छलफल सुरू गरेको छ ।
संघीय सरकारले जेठ १५ प्रदेशले असार १ गते र स्थानीयतहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नु पर्ने प्रावधान छ । छथरजोरपाटी गाउँपालिकाले पूर्वजनप्रतिनिधि, स्थानीय राजनितिकदल, टोलविकास संस्था, शिक्षक, महिला, समाजसेवी, बुद्धिजिवी र विद्यार्थीलगायतसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भइ सुझाव संकलन गरिरहेको छ ।
छथरजोरपाटी गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेट अघि छलफल र सुझाव संकलन गरिएको यो पहिलो अवसर हो । सुझाव संकलनमा सहभागीले बाँझो जमिन सदुपयोगका लागि आवश्यक रणनीति बनाइनु पर्ने, कृषि र स्वास्थ्य बीमाका कार्यक्रम गाउँपालिकाको बजेटमै समावेश गरिनु पर्ने, किसान कल्याण कोष बनाएर बजार अभाव र प्रकोपका कारण दूध, तरकारी र फलफूल खेतिमा क्षति पुगे राहत उपलब्ध गराउँनु पर्ने जस्ता सुझाव राखेका छन् ।
यस्तै गाउँपालिकामा विस्तार भएका ग्रामिण कृषि सडकको साइनो स्थानीयको जीविकोपार्जनसँग नजोडिएको भन्दै नयाँ ट्र्याकमा लगानी बन्द गरेर प्राथमिकता प्राप्त सडक ब्यबस्थित गर्दै जानु पर्ने सहभागिको सुझाव छ ।
वनस्पती विज्ञान अध्ययनका लागि ल्याब स्थापना तथा लघु, घरेलु र साना उद्योगका लागि प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिइएको छ । छथरजोरपाटी गाउँपालिका तरकारी उत्पादनका लागि उर्वर भएकाले माटो परिक्षण, कोपी र सागबालीमा प्रकोपकै रूपमा फैलिएको क्लवरूट रोग व्यव्स्थापन, मल र गाउँपालिकामै बीउबीजन बैंक स्थापनाका लागि नीति तथा कार्यक्रम र बजेट व्यव्स्था गरिनु पर्ने जस्ता सुझाव छन् ।
छथरजोरपाटी गाउँपालिकाको बार्षिक आन्तरिक आय ७३ लाख रूपैयाँ मात्रै हो । गाउँपालिकाले वार्षीक ४५ करोड रूपैयाँको बजेट बनाउँदै निर्माण गरी कार्यान्वयन गर्दै आएको छ ।
छलफलमा प्राप्त महत्वपूर्ण सुझावलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरिने छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनु भयो ।
नागरिकका आवश्यकता एकातिर र गाउँपालिकाको नीति कार्यक्रम र बजेट अर्कोतिर हुन सक्ने भएकाले सर्वपक्षिय छलफल र सुझाव संकलन गरिरहेको लिम्बुको भनाइ छ ।