काभ्रे । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि भव्य रूपमा सुरू भएको छ। जात्रा जेठ २७ गते साँझबाट औपचारिक रूपमा सुरू भई २८ गतेसम्म चल्नेछ।
परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतीक स्वरूप दुईवटा बाँस तेर्स्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू)ले पानी तरेर जात्रा सुरू भएको मानिन्छ। राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ।
चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा-आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ। साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ।
पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण-तीनवटा रथको दौड र जुधाइ-आयोजना गरिन्छ। भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन थालिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ।
स्थानीय परम्पराअनुसार, यो रथजात्रा देवता रूपी पात्रहरूको काम-क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ। मान्यता अनुसार, भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन्। महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन्। अन्ततः भद्रकाली चारैतिरबाट घेरिँछिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतीक हो।
पहिले-पहिले यो यौनिक संकेत बोकेको परम्परालाई झिसमिसेमा मात्र गरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा दर्शक र भक्तजनको सहभागीता बढाउन दिउँसो रथ जुधाउने चलन बसालिएको छ।
जात्राको अर्को आकर्षक पक्ष भनेको कर्माचार्य (आचाजू)हरूले पूजाका सामग्री र सुकुन्डा बोकेर पुण्यमती खोला पारि गोरखनाथ पुग्ने परम्परा हो। त्यहाँ नाग आसनबाट उठेपछि वर्षा र रोपाइँ सफल हुने जनविश्वास रहिआएको छ। यही कारणले यो जात्रालाई 'हिले जात्रा' अर्थात् रोपाइँ सुरू गर्ने पर्व पनि भनिन्छ।
जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर-घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ। जात्रा सकिएको भोलिपल्टैदेखि रोपाइँ सुरू गरिन्छ।
तीन दिनसम्म विविध पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदा समेत दिएको छ। जात्राले नगरको एकता, परम्परा र सांस्कृतिक पहिचान झल्काउने भएकाले सबैको सरिकता अपेक्षित गरिएको छ।