अछाम । नेपालमा हरेक वर्ष आगलागीमा परेर कम्तिमा एक सयभन्दा बढीको ज्यान जाने गरेको छ । कतिलाई त घरबारविहीन हुनु परेको छ ।
आगोले नष्ट भौतिक सम्पत्तिको मूल्याङ्कन हुने गरेपनि घरबारविहीन हुनु परेकाहरूको पीडा भने तत्काल सम्वोधन हुने गरेको छैन । पछिल्लो दुई महिनामा अछाम र बाजुरमा भएका आगलागीका घटनामा करिब ३१ करोड रूपैयाँ बराबरको क्षति भयो । अहिले दमकल खरिदका लागि पालिकाहरूले सामुहिकरूपमा प्रयास थालेका छन् ।
मानवीय लापरवाहीका कारण पछिल्लो समय आगलागीका घटनाहरू दिनदिनै बढ्दै गएका छन् । २ महिनाको अन्तरमा अछाम र बाजुरामा भएको आगलागीमा करोडौँको क्षती भयो ।
चैत २६ गते अछामको वान्नीगढी जयगढमा आगलागी भयो । त्यसबेला करिब ८ करोड रूपैयाँ बराबरको क्षति भयो । त्यसको केही सातामै वैशाख १३ गते सााफेवगरको हाट बजारमा आगलागी हुँदा ४ करोड रूपैयाँभन्दा बढि क्षति भएको थियो ।
साँफेवगर र जयगढको घटना सेलाउन नपाउँदै जेठ २३ गते छिमेकी जिल्ला बाजुराको बाम्कामा भीषण आगलागी भयो । त्यहाँ १९ करोड रूपैयाँ बराबर क्षति भयो । दुई महिनाको अन्तरमा तीन ठाउँमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन ।
जनताको नजिकको सरकार मानिएको स्थानीय सरकारले विपद्को पुर्व तयारी गर्न नसक्नु, आगलागी जस्ता घटना भइहाले समाधानको लागी दमकल जस्ता उपकरण व्यबस्थापनमा ध्यान नदिनुले घटनामा बढी क्षती व्यहोर्नु परेको नागरिकको गुनासो छ ।
बान्नीगढी जयगढ र सााफेबगरमा आगलागी भएर करोडौ क्षती भएपछी अछामका पायक पर्ने पालिकाहरू साँफेबगर, चौरपाटी, मेल्लेख, वान्नीगढी र रामारोशन मिलेर नया आर्थिक वर्षमा दमकल खरिदको योजना बनाएको पालिका प्रमुखहरूको भनाई छ ।
प्राकृतिक कारणले हुने आगलागी नियन्त्रण गर्न कठिन हुन्छ तर पनि सचेतना अपनाउने हो भने कृत्रिम तबरले हुने आगलागी र सबै प्रकारका आगलागीको जोखिम घटाउन सकिन्छ । आगलागी नियन्त्रण र रोकथामबारे पर्याप्त सूचना र चेतना सर्वसाधारणलाई प्रदान गर्न सके आगलागिको जोखीमवाट बच्न सकिन्छ ।