
काठमाडौं । नाबालिक बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धाराको थुनामा रहेका लामिछाने रिहा भएका हुन् ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
सन्दीपको परिवारले बुधबार उच्च अदालत पाटनलाई धरौटी रकम बुझाएको थियो ।
सन्दीप अब कानुनीप्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सन्जालमा कुनै टिका-टिप्पणी गर्न पनि निषेध गरेको छ ।
सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई खेल्न दिइनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
सन्दीप लामिछाने एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत असोज २० गते पक्राउ परेका थिए । उनले गत भदौ ५ गते काठमाडौंको तिलगंगाको होटेलमा करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरी वृत्त गौशलामा उजुरी परेको थियो ।
