
काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो ।
धरौटीमा रिहा भएपछि पनि उनले देशबाहिर जान भने प्रदेश सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ । धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन् ।
लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी दर्ता हुँदा लामिछाने केन्यासँगको ट्वेन्टी-ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।
उनी आफू निर्दोष भएको दाबी गर्दै उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए ।