चरा गणना : ५ प्रजातिका नयाँ चरा भेटिए

पुस २७, २०७९ |नवीन पौडेल
चरा गणना : ५ प्रजातिका नयाँ चरा भेटिए

नवलपरासी । पूर्वी नवलपरासीको नारायणी नदी र सिमसार क्षेत्रमा यस वर्ष अघिल्लो वर्षको भन्दा पाँच नयाँ प्रजातिका चरा भेटिएको छ ।

अघिल्लो वर्ष ३८ प्रजातिका चरा गणना भएकामा यस वर्ष पाँच प्रकारका नयाँ चराका प्रजाति देखिएको हो । पक्षीविद् एवं चरागणना पश्चिम सेक्टरका संयोजक डीबी चौधरीको नेतृत्वमा खटिएको चारवटा समूहले गरेको गणनामा जुरे हुटिट्याउँ, राज सुडिया, बेल्चा ठुँडे हाँस, जुरे हाँस र ध्यासेसिम कुखुराका थप प्रजाति देखिएका हुन् । हरेक वर्ष जनवरीको दोस्रो सातामा नेपालका मुख्य नदी र सिमसार क्षेत्रमा चरा गणना हुने गरेको छ । सोहीअनुसार जिल्लाको गैंडाकोटदेखि त्रिवेणीसम्म नारायणी नदीमा चरागणना भएको थियो ।

अघिल्लो वर्षको भन्दा ४७८ वटा बढी चरा देखिएको छ । गत वर्ष ४ हजार २७ भेटिएको थियो । गणनामा खटिने गणकहरुले सिमसार र नारायणी नदी आसपासमा टेलिस्कोप र बाइनाकुलरको सहायताले गणना गर्ने गर्दछन् । गणना गर्दा चराको आवाज, रङ र प्रजातिको हिसाबले गणना गर्ने गरिन्छ । जाडो छल्न विभिन्न देशबाट यस क्षेत्रमा पक्षी आउने भएकाले हरेक जनवरीमा पक्षी गणना गर्ने गरिन्छ । सन् १९८७ देखि निरन्तर चरा गणना हुँदै आएको छ । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।