नेपालको ६५ प्रतिशत माटो बिग्रियो, सुधार्ने उपाय के ?

भाद्र २०, २०७९
नेपालको ६५ प्रतिशत माटो बिग्रियो, सुधार्ने उपाय के ?

नेपाल कृषि अनुसन्धान परिषद् र कृषि विभागका अनुसार पूर्वी तराईका झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा ६० देखि ६५ प्रतिशत खेतीयोग्य जमिनको माटोमा अम्लिय तत्व बढेर उर्वरा शक्त्ति नै समाप्त हुने अवस्थामा पुगेको छ । कुल खेतीयोग्य २५ लाख हेक्टर जमिनमध्ये एक तिहाईको गुणस्तर औषतभन्दा कम छ । पछिल्ला १५ वर्षयता पशुपालनमा आधारित खेतीपद्धती परिवर्तन हुँदा माटोको गुणस्तर औषतभन्दा तल झरेको सरकारी ठम्माई छ । 

माटोको गुणस्तर औषतभन्दा तल झर्नुमा रासायनिक मलको अनियन्त्रित प्रयोग नै मुख्य कारण हो । यसमा किसान मात्र होइन सरकारी निकायसमेत उत्तिकै जिम्मेवार छन् । ३८ लाख ३१ हजार किसान रहेको देशमा सरकारी तवरबाट जम्मा १५ हजार किसानको खेतबारीको माटोको मात्रै नमूना परीक्षण हुने गरेको छ । सातै प्रदेशमा माटो परीक्षण प्रयोगशाला रहे पनि जनशक्ति छैन । त्यति मात्र होइन, किसानलाई नियमित माटो परीक्षण गर्नुपर्छ भन्ने जानकारीसमेत छैन ।

न्यूनतम् कृषि सामग्रीको अभाव र माटोको उर्वराशक्ति ह्रास हुँदा नेपालमा कृषिजन्य वस्तुको उत्पादकत्व दक्षिण एसियामै कम छ । कृषि मन्त्रालयका अनुसार धानको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ७६, मकैको २ दशमलव ८, तेलहनको १ दशमलव १ र फलफूलको ९ दशमलव ८ टन छ । माटोका संरक्षणसँगै खेतीपद्धतीमा सुधार नगर्दासम्म अवस्था उनी रहने देखिन्छ ।

बढ्दो जनसंख्या, घट्दो उत्पादन र उत्पादकत्व भोलिका लागि चुनौती बनेको छ । हामीले उत्पादन बढाउन जति हेलचेक्याई गर्छौ खाद्यान्नको अभाव र महंगीको सामना पनि त्योभन्दा बढी गर्नुपर्ने छ ।