नर्सिङ शिक्षा पुरुषको रोजाइमा पर्न किन सकेन ?

श्रावण २३, २०७९
नर्सिङ शिक्षा पुरुषको रोजाइमा पर्न किन सकेन ?

पुरुषले पनि चिकित्सा शिक्षाको नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था गरिए पनि आकर्षण देखिएको छैन । चिकित्सा शिक्षा आयोगले स्नातक तह अध्ययनका लागि लिएको प्रवेश परीक्षामा उर्तिण १० हजार विद्यार्थी मध्ये एक जना पुरुष विद्यार्थी मात्र नर्सिङमा भर्ना भएका छन् । नर्सिङ शिक्षा पुरुषले पनि पढ्न पाइन्छ भनेर बुझाउन नसक्दा १५ प्रतिशत कोटा व्यवस्था गरे आकर्षण नदेखिएको हो ।

सामान्यतया नर्सिङ भनेपछि महिलाले मात्र पढ्ने बुझिन्छ । पुरुषले पनि नर्सिङ अध्ययन गर्न सक्ने व्यवस्था गरी तीन वर्षअघिबाट १५ प्रतिशत कोटाको व्यवस्था सरकारले गरेको थियो । तर पनि नर्सिङ शिक्षा पुरुषको रोजाइमै पर्न सकेको छैन । विश्वविद्यालय तहका बीएस्सी र बीए नर्सिङ गरी ७२ वटा शैक्षिक संस्थामा २६ सय १० जनालाई नर्सिङ शिक्षाको पढार्इ हुन्छ । यस वर्ष चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा उर्तीणमध्ये एक जना पुरुषले मात्र नर्सिङमा भर्ना रोजेका छन् । 

२०४३ देखि २०४६ सालसम्म पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था थियो । त्यसपछि हटाइएको थियो । नर्सिङ काउन्सिलका अनुसार दर्ता भएका करिव ७५ हजार नर्समध्ये ८० जना मात्र पुरुष नर्स छन् । २०७५ सालमा फेरि नर्सिङ अध्ययनका लागि पुरुषलार्इ कोटा सुनिश्चित गरिएको हो । विश्वविद्यालय तहमा मात्र नभएर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रमाणपत्र तहमा पनि नर्सिङ शिक्षाप्रति पुरुषहरुको रुची देखिएको छैन ।

विदेशमा महिला र पुरुष समान रुपमा नर्सिङ अध्ययन र पेशामा संलग्न छन् । तर नेपालमा भने नर्सिङ पेशा महिलाको मात्र हो भन्ने गलत बुझाइले पुरुष विद्यार्थीको आकर्षण नदेखिएको हो ।