नेपालमा अध्ययन गरेका विदेशीले पनि चिकित्सक लाइसेन्स परीक्षा दिन पाउने

श्रावण ५, २०७९
नेपालमा अध्ययन गरेका विदेशीले पनि चिकित्सक लाइसेन्स परीक्षा दिन पाउने

नेपालमा चिकित्सा शिक्षा अध्ययन गरेका विदेशीले पनि चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले नियमावली नै संशोधन गरेर मेडिकल र डेन्टलमा स्नातक उर्तिण विदेशी विद्यार्थीका लागि पहिलो पटक लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरेको हो । तर नेपालका चिकित्सकले भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा विदेशीलाई लाइसेन्स परीक्षामा सहभागी गराएर सिधै बिरामी जाँच्न पाउने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

नेपालका २२ वटा मेडिकल कलेजमा एमबीबीएस र बीडिएस अध्ययनका लागि वर्षेनी साढे दुई सय विदेशी विद्यार्थी आउँछन् । ती मध्ये ९५ प्रतिशत भारतीय छन् । अध्ययन सकिएपछि आफ्नै मुलुक फर्केर लाइसेन्स परीक्षामा सहभागी हुने चलन छ । तर मेडिकल काउन्सिलले नेपालमा अध्ययन पुरा गरेका विदेशी विद्यार्थी पनि चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । मेडिकल काउन्सिल र भारतीय आयुविज्ञान परिषद्बीच तीन वर्षअघि भएको समझदारीका आधारमा काउन्सिलले नियमावली संशोधन गरेको हो ।

सामान्यत: काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण विद्यार्थीले बिरामी जाँच्न पाउँछन् । तर यसअघिसम्म विदेशी चिकित्सकले श्रम र स्वास्थ्य मन्त्रालयको सहमति र मेडिकल काउन्सिलको निर्णयका आधारमा मात्रै विरामी जाँच्न पाउने व्यवस्था थियो । अहिले मेडिकल काउन्सिलले नियमावलीनै संशोधन गरेर विदेशी विद्यार्थीले लाइसेन्स परीक्षा दिन सक्ने व्यवस्था गरेपछि चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघसमेतले आपत्ति जनाएको छ ।

काउन्सिलले भने विदेशीलाई लाइसेन्स परीक्षा सहभागी गराउनु योग्यताको परीक्षण मात्रै भनेको छ । परीक्षामा सहभागी हुने वित्तिकै उनीहरुले विरामीको उपचार नपाउने भएकाले नेपाली चिकित्सकले चिन्ता लिनु नपर्ने काउन्सिलको भनाइ छ ।

मेडिकल काउन्सिलले नियमावली संशोधन गर्दा चिकित्सक संघको समेत सुझाव लिएको छैन । नेपाली चिकित्सकको अभ्यास र रोजगारीमा असर नपर्ने गरी सरकार र मेडिकल काउन्सिल गम्भीर हुन जरुरी छ ।