सरकारी कागजात बनाउन जाँदा छिटो–छरितो र चुस्त सेवा पाउने नेपालीको सपना कहिले पुरा होला ? अहिले सरकारी कार्यालयमा कुनै पनि कागजात बनाउन पुग्ने हरेक जसोले गर्ने प्रश्न हो यो । सरकारी सेवा लिएवापत नागरिकले हरेक वर्ष कर तिर्ने गर्दछन् । तर सेवा लिँदा भने सास्ती नै सास्ती भोग्छन् । सेवाग्राहीको बढ्दो चापकै बीच दशकौँ पुरानो प्रविधि, झन्झटिलो प्रक्रिया र ढिला सुस्तीले नागरिक सास्ती भोग्न बाध्य भएका हुन् ।
यातायात कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, वैदेशिक अध्ययन अनुमतिपत्र शाखालगायतका कार्यालयमा जहिले पनि भीडभाड नै हुने गरेको छ । सेवाग्राहीले भनेको समयमा सेवा त पाउँदैनन् नै कयौं झन्झट पनि बेहोर्नुपर्छ । त्यति मात्र होइन बिचौलियाको बिगबिगी पनि उस्तै छ ।
हामी दिउँसो साढे २ बजे केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति पत्र अर्थात एनओसी बनाउने कार्यालयमा पुग्दा सेवाग्राहीको चाप थेगिनसक्नु थियो । लाईन व्यवस्थित गर्ने सामान्य प्रयाससमेत भएको थिएन । एकै जना कर्मचारीले सयौँलाई सेवा दिनुपर्ने बाध्यता त थियो नै घण्टौंदेखि लाईनमा बसेकाहरु कर्मचारीको व्यवहार र कामको झन्झटिलो प्रक्रियाले दिक्दार देखिन्थे ।
यता, प्रविधिमैत्री सेवा दिएको दाबी गर्ने राहदानी विभाग पनि व्यवस्थित छैन । सेवाग्राहीको चाप उस्तै छ । विगतमा जस्तो बिचौलियाको बिगबिगी केही कम भए पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । अहिले देखिएका कमजोरी सुधारको प्रयास भइरहेको विभागले जनाएको छ ।
एउटा सेवा लिनकै लागि सरकारी कार्यालयमा एक सातासम्म धाउनुपर्ने बाध्यता कायमै छ । त्यसमाथि बिचौलियाको चंगुलमा फस्ने जोखिम पनि उस्तै छ । व्यवस्थित तवरले सहज सेवा पाउने नेपालीको चाहना कहिले पूरा होला ?