स्थानीय तहको चुनावमा अपेक्षाकृत मत नखस्नुको कारण ?

वैशाख ३१, २०७९
स्थानीय तहको चुनावमा अपेक्षाकृत मत नखस्नुको कारण ?

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदान हुन सकेन । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको जनाएको छ । यो पनि आयोगले अपेक्षा गरेकोभन्दा दश प्रतिशत कम हो । यसपाली निर्वाचनमा ८० प्रतिशतको हाराहारीमा मतदान हुने आयोगले अपेक्षा गरेको थियो । तर भने जति मत खस्न नसक्नुको कारण के हो त ?

मुलुक संघीयतमा प्रवेश गरेपछि दोस्रो पटक स्थानीय तह निर्वाचन भएको हो । यसअघि २०७४ सालमा पहिलो पटक भएको निर्वाचनमा ७३ प्रतिशतले मतदान गरेका थिए । तर यसपटकको चुनावमा भने विगतको जति पनि मतदान हुन सकेन । 

आयोगले सार्वजनिक गरेको तथ्याङ्ककै आधारमा पनि  यसपटक २०७० साल यता भएका निर्वाचन मध्येमा सबैभन्दा कम मत खसेको छ । निर्वाचन आयोगका अनुसार २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा ८० प्रतिशत, २०७४ सालको प्रदेश र प्रतिनिधिसभाको चुनावमा ७५ प्रतिशत मत खसेको थियो । पाँच वर्षको अवधिमा मतदातामा शिक्षा बढेको र निर्वाचनप्रतिको आम नागरिकको चासो बढेकाले ८० प्रतिशत भन्दा माथि मतदान हुने अपेक्षा निर्वाचन आयोगको थियो । विदेशिएका युवा, सबै सरकारी कर्मचारीले भोट हाल्न नपाउनु र मतदाता शिक्षालगाएका कारणले मतदान गर्नेको प्रतिशत बढ्न नसकेको हो । 

निर्वाचन आयोगले ७० प्रतिशतको हाराहारीमा मतदान भएको दाबी गरे पनि तथ्यगत रूपमा पुष्टि भइसकेको छैन । जस्तो कि काठमाडौंमा महानगरपालिकामा ३ लाख २ सय ४२ मतदाता रहेकोमा १ लाख ९० हजार १ सय ७० ले मात्र मतदान गरे । जुन कुल मतदाताको ६३ प्रतिशत मात्र हो । अन्य स्थानको मत अवस्था केलाउँदा पनि यस्तै अवस्था देखिन्छ । २६ लाख योग्य मतदाताले मतदान गर्न नपाएको र केही मृत्यु भइसकेका व्यक्तिको नामसमेत मतदाता नामावलीमा समेटिएकाले मतदान प्रतिशत कम भएको भने पक्कै हो ।