स्थानीय तह चुनावको मतगणना किन सुस्त ?

वैशाख ३१, २०७९
स्थानीय तह चुनावको मतगणना किन सुस्त ?

निर्वाचन भएपछि चाँडोभन्दा चाँडो नतिजा आओस् भन्ने चाहना जोसुकैको हुन्छ । तर नेपालमा भएका जुनसुकै निर्वाचनमा पनि मतपरिणाम आउन कयौं दिन लाग्ने गरेको छ । अहिले जारी स्थानीय तह चुनावको मतगणना पनि निकै सुस्त छ । धेरै मतदाता भएको पालिकामा त झन् प्रारम्भिक नतिजा सुन्न पनि घण्टौं कुर्नुपर्ने बाध्यता छ । किन हुन्छ त मतगणना सुस्त ?

यसपालीको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका १ लाख ९० हजारभन्दा बढी मत खसेको छ । तर शनिबार दिनभर मतगणना गर्दा पनि २ प्रतिशत हाराहारी मात्र मत गणना भयो । यही गतिमा मतगणना भए अन्तिम परिणाम प्राप्त गर्न एक महिनाभन्दा बढी समय लाग्न सक्ने देखिएको छ । 

मतगणनामा ढिलाइ कुनै एउटा मात्र कारणले भएको छैन । महानगरपालिकाको एक प्रमुखका लागि ३५ स्वतन्त्रसहित ५५ जना उम्मेदवार छन् ।  हरेक उमेद्वारले एक जना प्रतिनिधि राख्दा पनि गणना स्थलमा निकै भिडभाड देखिएको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह, नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छन् । उनीहरुका समर्थक मतगणना भइरहेको स्थानमा ठूलो संख्यामा उपस्थित छन् । उनीहरुले बाहिर बसेरै भए पनि मतगणनाको अवस्था मिहीन ढंगले हेरिरहेका छन् । यसले मत गन्न बसेकाहरुलाई दबाब परेर झन् ढिलाई भइरहेको छ । त्यसमाथी धेरै निर्वाचन चिह्नसहितको ठूलो मतपत्र भएकाले मत पहिचान गर्न पनि कमर्चारीलाई सास्ती हुन्छ । एउटा मत गन्न झन्डै २० मिनेट लाग्ने गरेको छ ।

काठमाडौंमा मात्र होइन धेरै मतदाता रहेका शहरमा मतगणना निकै सुस्त छ । भरतपुर, वीरगन्ज नेपालगन्ज बुटवललगायतका शहरमा मत मतगणनामा ढिलाइ भइरहेको छ ।  मतगणनाको कामलाई तीव्र नबनाउने हो भने नतिजाको पर्खाइ नै पट्यारलाग्दो हुने देखिन्छ ।