कोरोना संक्रमित खुलेआम हिडडुल गर्दै

माघ १४, २०७८
कोरोना संक्रमित खुलेआम हिडडुल गर्दै

कोभिड संक्रमित कहाँ र कुन अवस्थामा छन् भनेर सरकारले चासो दिन छाडेको छ । त्यही कारण संक्रमण फैलिने क्रम पनि बढेको छ ।  त्यति मात्र होइन, चिसो मौसमका कारण रुघाखोकीका लक्षण देखिएको भनेर परीक्षण नगर्दा र संक्रमितले मापदण्ड पालना नगर्दा पनि संक्रमण भित्रभित्रै फैलिरहेको छ।

कोभिड–१९ बाट संक्रमित एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी भए। संक्रमण पुष्टी भएको ५ दिनमै उनी एमालेको भातृ संगठन युवा संघले भक्तपुरको बालकोटमा गरेको रक्तदान  कार्यक्रममा सहभागी हुन पुगेका हुन् । जबकी सरकारले संक्रमण पुष्टी भएको ७ दिन आइसोलेसनमा बस्नुपर्ने मापदण्ड जारी गरेको छ। तर ओलीले त्यो मापदण्ड पालना गरेनन् । आफू सरकारमा छँदा पनि कोरोना केही होइन भनेर आमनागरिकलाई भ्रममा पारेकोमा आलोचित हुँदै आएका ओली अहिले प्रतिपक्षी दलका नेता हुँदा पनि त्यस्तै व्यवहार गरेका छन् ।

यो त एउटा उदाहरण मात्र हो। अहिले कोरोनाको हटस्पटको रुपमा रहेको काठमाडौंमा मापदण्ड पालनामा लापरबाही बढेको देखिन्छ । त्यही कारण संक्रमण रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको छ । अहिले गम्भीर भएर उपचार गर्न आउने बिरामीको संख्या नबढे पनि यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका तथा दीर्घरोगीलाई नराम्रो असर गर्दै आएको छ

अझ  संक्रमणको लक्षण देखिएकालाई लक्षण निको भएको कम्तिमा पनि ३ दिनपछि मात्र हिँड्डूल गर्नु भनिएको छ । तर संक्रमितले यसलाई हलुका रुपमा लिएर सरकारले जारी गरेको मापदण्डको पालना गरेका छैनन् । त्यति मात्र होइन मापदण्ड पालना भए नभएको अनुगमनसमेत प्रभावकारी भएको छैन । 

कोरोना संक्रमण भुसको आगो जसरी फैलिरहँदा नियमनकारी र जिम्मेवार निकायले लापरबाही गर्नु दुर्भाग्य हो ।