चालु आर्थिक वर्षमा मात्रै २३ वटा दुर्लभ एकसिंगे गैंडाको मृत्यु

माघ १४, २०७८
चालु आर्थिक वर्षमा मात्रै २३ वटा दुर्लभ एकसिंगे गैंडाको मृत्यु

पछिल्लो समय दुर्लभ एकसिंगे गैंडा मर्ने क्रम बढ्दै गएको  छ । स-साना मानवीय त्रुटी र लापरबाहीका कारण दुर्लभ वन्यजन्तु मर्न थालेपछि सरोकारवालालाई संवेदनशील बनाएको छ । चालू आर्थिक वर्षको हालसम्म मात्र २३ वटा गैंडाको मृत्यु भएको छ । यसले संरक्षणको क्षेत्रमा खटिएकाहरुलाई नराम्ररी झस्काएको छ ।

माघ ९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर-९ स्थित गोन्द्राङमा बन्दै गरेको नालामा खसेर एउटा गैंडा मर्‍यो । संवेदनशील मानिएको वरण्डाभार क्षेत्रसम्मै सडक डिभिजन कार्यालयले नाला बनाउादा हुन सक्ने जोखिमबारे पूर्वानुमानै गर्न सकेन । उसले वन क्षेत्रमा नाला बनाउादा न त डिभिजन वन कार्यालय न त चितवन राष्ट्रिय निकुञ्जसाग नै समन्वय गर्‍यो । एकलौटी रुपमा सडक विस्तार गरेर दुर्गम वन्यजन्तु निशामा पर्‍यो । घटनापछिमात्र निकुञ्जले काम अघि नबढाउन निर्देशन दिएको छ ।

नालामा खसेर गैंडा मर्नु प्रतिनिधि घटना मात्रै हो । मानवीय त्रुटीले दुर्लभ एकसिंगे गैंडा पटक-पटक मर्दै आएका छन् । कहिले करेन्ट लागेर त कहिले सेफ्टी ट्यांकीमा खसेर समेत गैंडा मरेका घटना छन् । तर पनि जिम्मेवार निकायले यसबाट कहिल्यै पाठ सिकेका छैनन् । स्वीकृति विनै मनलाग्दी काम गर्दा यस्ता घटना हुने गरेका छन् ।

चालू आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरी २३ वटा गैंडा मरिसकेका छन् । सबैभन्दा धेरै साउन महिनामा ६ वटा गैंडा मरेका छन् । गत आर्थिक वर्षमा चितवनमा ३३ वटा गैंडा मरेका थिए । हालसम्म सबैभन्दा धेरै २०७५/७६ मा ४३ वटा गैंडा मरेका थिए । यी तथ्यांकले पनि संरक्षणको क्षेत्रमा खटिएका सरोकारवालालाई झस्काएको छ ।

पछिल्लो गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैंडा छन् । ती मध्ये ६ सय ९४ वटा त चितवनमै छन् । यही निकुञ्ज र बन क्षेत्रमा यसरी मानविय त्रुटीले पटक-पटक गैंडा मारिनु स्वाभाविक मान्न सकिँदैन ।