‘राष्ट्र बैंकको स्वायत्तता अक्षुण्ण राख्न प्रतिबद्ध छु’

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘राष्ट्र बैंकको स्वायत्तता अक्षुण्ण राख्न प्रतिबद्ध छु’

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको स्वायत्तता अक्षुण्ण राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राजनीतिक दल र नेताहरूको प्रभाव र दबाबबाट मुक्त रही ऐन र नियमको अधिनमा रही कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो । 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै पौडेलले अर्थमन्त्रालय र सरकारसँग विधिसम्मत रूपमा समन्वय गर्ने बताउनुभयो ।

सरकारको वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिमा सामञ्जस्य कायम गर्न आफ्नो प्रयास हुने बताएका गभर्नर पौडेलले निम्न तहको आम्दानी बढाउने र उद्यममा समान पहुँच बनाउने गरी नीतिहरू तर्जुमा गर्नेतर्फ आफ्नो ध्यान रहेको समेत बताउनुभयो । कार्यक्रममा शेयर बजार र घरजग्गा कारोबारबारे गभर्नर पौडेलको दृष्टिकोण, सहकारी तथा लघु वित्त क्षेत्रमा देखिएको समस्या समाधान तथा भारतसँगको स्थिर विनिमय दरका बारेमा समेत कुराकानी गरिएको छ । 

कालो धन सेतो बनाउनका लागि आउने दबाबका बारेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा गभर्नर पौडेलको जवाफ हेर्न आज राति ९ बजे प्रसारण हुने कार्यक्रम फायरसाइड हेर्नुहोला । कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.