काठमाडौं । रसुवामा आएको बाढीका कारण झन्डै २ सय मेगा वाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका परियोजनामा ठूलो क्षति पुर्याएको प्रवक्ता समेत रहेका निर्देशक राजन ढकालले जानकारी दिनुभएको छ ।
प्रवक्ता ढकालका अनुसार बाढीले रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली ३ 'ए' र त्रिशूली ३ 'बी' मा क्षति पुगेको छ । १११ मेगा वाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको प्रवक्ता ढकालले बताउनुभयो । उहाँका अनुसार चिलिमेको टेलरेसमा पानी छिरेको छ । त्यस्तै त्रिशूली ३ 'ए' को तीन वटा हेडवर्क्स बगाएको छ ।
यसैगरी त्रिशूली ३ 'बी' को हब सबस्टेसन पनि बाढी पसेपछि बन्द गरिएको प्राधिकरणले जनाएको छ । चिलिमे २२ मेगा वाट, त्रिशूली ३ 'ए' ६० र त्रिशूली ३ बी ३७ मेगा वाटका परियोजना हुन् । आज बिहान तिब्बत हुँदै रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।