रसुवा बाढी : सम्भावित कारण पत्ता लगाउन भूउपग्रह तस्बिरका लागि ‘इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट’ जारी

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवा बाढी : सम्भावित कारण पत्ता लगाउन भूउपग्रह तस्बिरका लागि ‘इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट’ जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको जनाएको छ ।महाशाखाले जारी गरेको भोटेकोशी बाढीबारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार रसुवागढी नाकाबाट केही तल रसुवा टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३:१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ ।

त्यस्तै रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याफ्रुबेंसी जलमापन केन्द्रमा बिहान ३:३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३:३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३:४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको महाशाखाले जनाएको छ । केन्द्रका गेजरिडरलाई उद्धृत गर्दै महाशाखाले उक्त केन्द्र नै बाढीले बगाएको समेत जानकारी दिएको छ ।

महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा बाढी नै आउने गरी पानी नपरेको समेत जनाएको छ । सोमबार बिहान ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्ममा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको थियो ।

महाशाखाले भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको नदेखिएको जनाएको छ । त्यसैले पनि भोटेकोशीमा आएको बाढी वर्षाका कारण उत्पन्न भएको नदेखिएको महाशाखाको अनुमान छ ।

भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे सेन्टिनेल एसिया प्लाटफर्ममा तत्कालको भू-उपग्रह तस्बिर प्राप्त गर्न 'इमर्जेन्सी अब्जर्भेसन रिक्वेस्ट' जारी गरिएको छ ।

महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले पाल्पा र उदयपुरमा राखिएका मौसमी राडारबाट हेर्दा पनि तिब्बती क्षेत्रमा समेत ठूलो पानी परेको नदेखिएको जनाए । जोशीले आजको बाढीको कारण वर्षा नभएको र तिब्बती क्षेत्रमा समेत १०/१२ मिलिमिटरभन्दा बढी पानी नपरेको बताउनुभयो । महाशाखाले त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.