नेपाल स्ट्रीट प्रिमियर लिग हुने, अभिनेता निखिल उप्रेती ब्रान्ड एम्बासेडर

असार २४, २०८२ |खेल ब्युरो
नेपाल स्ट्रीट प्रिमियर लिग हुने, अभिनेता निखिल उप्रेती ब्रान्ड एम्बासेडर

काठमाडौं । नेपालमा टी–१० टेनिस–क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग आयोजना हुने भएको छ । आयोजक डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 

एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिता आगामी असोज १५ गतेदेखि असोज २४ गतेसम्म काठमाडौंको तल्लो मूलपानी मैदानमा हुने बताएका छन् । प्रतियोगितामा सात टोलीले कुल २४ खेल खेल्नेछन् । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् भने लिगको शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । 

प्रतियोगितामा सहभागिताका लागि टिम खरिद गर्नुपर्ने छ र खेलाडीको अक्सन पनि हुनेछ । टिम दर्ता गर्न ३० हजारदेखि एक लाखसम्म लाग्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैया प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ११ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताका अध्यक्ष सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लाटफर्म निर्माण गरेर ग्रासरूट क्रिकेटलाई विकास गर्ने बताए । 

‘स्ट्रीटदेखि स्टेडियमसम्म’ भन्ने नाराका साथ एनएसपीएलले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्लेटफर्म दिने उद्देश्य राखेको छ । त्यसै गरी एनएसपीएलले चर्चित अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्रान्ड एम्बासेडर घोषणा गरेको छ ।