रसुवा बाढी अपडेट : तथ्यांक संकलन कठिन, सुरक्षा प्रमुखहरूको टोली पैदलै घटनास्थलतर्फ

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवा बाढी अपडेट : तथ्यांक संकलन कठिन, सुरक्षा प्रमुखहरूको टोली पैदलै घटनास्थलतर्फ

काठमाडौं । रसुवागढीस्थित नेपाल-चीन सीमामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका छन् । आज बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल समेत बगाएको छ भने नेपालको सुक्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।

सुरक्षा निकायले १८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी दिए पनि बाढीमा कति मानवीय क्षति भएको छ भन्नेबारे यकिन जानकारी आइनसकेको श्रीनाथ गणका गणपति प्रमुख सेनानी प्रद्युम्न गौतमले जानकारी दिनुभएको छ । वेत्रावतीमा एक जनाको शरीरको अंग भेटिए पनि पहिचान भएको छैन । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल समेत बगाएको छ भने रसुवाको भन्सार यार्डमा ठूलो क्षति पुगेको देखिएको छ । तर कति सवारी साधन बगायो भन्ने तथ्यांक संकलनका लागि कठिन भइरहेको प्रमुख सेनानी गौतमले बताउनुभयो । 

अहिलेसम्म रसुवागढी नाका क्षेत्रमा फसेका ५० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । तर खोलाको बहाव अत्यधिक रहेकाले सडकबाट घटनास्थल पुग्न निकै कठिन भइरहेको उहाँले बताउनुभयो । अहिले रसुवाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरूको टिम पैदलै घटनास्थलतर्फ गइरहेको छ । मध्याह्न साढे १२ बजेसम्म बाढीमा परेका १८ जना बेपत्ता भएको जानकारी सुरक्षा निकायले दिएको छ । नेपाल प्रहरीका सहायक निरीक्षक लीलाबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएको जानकारी दिइएको छ ।

त्यस्तै चिनियाँ नागरिकहरू ६ जना बेपत्ता भएका छन् भने ९ नेपाली नागरिक बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुने नेपालीहरूमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मण थारू, सुरेश थारू र बाग्लुङका नरेन्द्र विक छन् । त्यस्तै कन्टेनरको डिब्बा चालक फुर्वा लामा, मिक्स्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ता भएको जनाइएको छ ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ । बाढी गएको स्थानमा सशस्त्र प्रहरी बलको निरीक्षकको नेतृतवमा २४ जना, नेपाली सेनाको श्रीनाथ गणको टिमुरे सुरक्षा पोस्टमा १४ जना र नेपाल प्रहरीको १८ जना परिचालित छन् । त्यस्तै माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा खटिएको सशस्त्र प्रहरी बलको सुरक्षा बेसमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले हतियार तथा सुरक्षा सामग्री स्थानान्तरण गरिएको छ । सुरक्षाकर्मीको टोलीले भन्सार यार्डमा काम गर्ने ६ जना नेपाली कामदार र १ जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

टिमुरेस्थित विद्युतीय गाडी चार्जिङ स्टेसनमा क्षति पुग्दा करिब करिब ८ वटा गाडी बगाएको हुन सक्ने आशंका गरिएको छ । भन्सार कार्यालय रसुवा यार्डमा लोड भएका करिब ९ वटा कन्टेनरको डिब्बा बगाएको आशंका गरिएको छ ।

बिहान सशस्त्र प्रहरी बलले विपद उद्धार तालिम प्राप्त ७ जनासहित थप २० जना परिचालन गरेको छ । बाढीका कारण स्याफ्रुबेंसीबाट टिमुरे जान कठिन भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बढीले कटान गर्दा पहिलो झरेर स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको १४ किलो सडकमा ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.