काठमाडौं । नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि स्वास्थ्य क्षेत्रकै अविश्वासका कारण प्रत्यारोपणको संख्या बढ्न नसकेको प्रत्यारोपण विज्ञ डा. रमेशसिंह भण्डारीले बताउनुभएको छ । नेपालमा ८ वर्षअघि नै कलेजो प्रत्यारोपण सुरु भएकोमा गएको वर्षदेखि शिक्षण अस्पतालमा नेपालकै शल्य चिकित्सकले प्रत्यारोपण गर्न थालेका हुन् ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै डाक्टर भण्डारीले यसबारे पर्याप्त जानकारी नहुनु र जानकारी हुनेहरूले पनि नेपालका अस्पताल र चिकित्सकमाथि विश्वास गर्न नसकेको बताउनुभयो ।
चिकित्सक र स्वास्थ्यकर्मीहरू धमाधम विदेश गइरहेको सन्दर्भमा डाक्टर भण्डारीले नेपालमै बसेर काम गरिरहेकाहरूलाई टिकाउनका लागि पर्याप्त प्रोत्साहन र काम गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । भण्डारीकै नेतृत्वमा गत वर्ष पहिलोपटक नेपाली चिकित्सकले नै कलेजोको सफल प्रत्यारोपण भएको थियो ।
त्यसयता हालसम्म शिक्षण अस्पतालमा जम्मा ७ जनामा प्रत्यारोपण भएको छ । डाक्टर भण्डारीसँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे कार्यक्रम फायरसाइडमा प्रसारण हुनेछ । साथै कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि कार्यक्रम हेर्न सकिनेछ ।