काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरू हुनेछ ।
गुजरातले आफ्नो सिजनको सुरूवात पञ्जाब किङ्ससँग हारबाट सुरुवात गरेपनि त्यसपछि मुम्बई, बैंगलोरू, हैदराबाद र राजस्थानलाई लगातार हराउँदै शानदार पुनरागमन गरेको थियो । तर पछिल्लो खेलमा लखनऊसँग ६ विकेटले पराजित भएको थियो ।
अहिले गुजरात ६ खेलमा ८ अंकसहित लिगको तेस्रो स्थानमा छ । दिल्लीले यस सिजन केवल मुम्बई इन्डियन्ससँग हार व्यहोरेको छ । राजस्थानसँगको सुपर ओभरमा जितेपछि टोलीको आत्मविश्वास झनै बढेको छ ।
दिल्लीले ६ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। गुजरात र दिल्लीबीच आईपीएलमा हालसम्म ५ खेल भएका छन् । जसमा २ खेल गुजरातले र ३ खेल दिल्लीले जितेको छ ।
पछिल्ला तीनै खेलमा दिल्ली विजयी भएको छ । गुजरातका लागि साई सुदर्शनले ६ खेलमा ३२९ रन बनाइसकेका छन् । जसमा ४ अर्धशतक सामेल छन् । उनी सिजनको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । बलिङतर्फ प्रसिद्ध कृष्णाले ६ खेलमा १० विकेट लिएका छन् ।
दिल्लीका लागि केएल राहुलले ६ खेलमा २३८ रन बनाएका छन् । बलिङमा कुलदीप यादवले सबैभन्दा बढी ११ विकेट लिएका छन् भने मिचेल स्टार्क ५ खेलमा १० विकेट लिएका छन् ।
नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटिङ फ्रेन्डली मानिन्छ। यहाँ हालसम्म ३८ आईपीएल खेल भएका छन् । जसमा १८ पटक पहिला ब्याटिङ गर्ने र २० पटक पछि ब्याटिङ गर्ने टोलीले जितेका छन् ।
आजकै दोस्रो खेलमा राति पौने ८ बजे राजस्थान रोयल्स र र लखनऊ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल राजस्थानको घरेलु मैदान जयपुरको सवाई मानसिंह स्टेडियममा हुनेछ ।
राजस्थानले अहिलेसम्म ७ खेलमध्ये केवल २ खेलमा मात्र जित निकालेको छ भने लखनऊले ४ खेल जितेको छ । राजस्थान र लखनऊबीच हालसम्म ५ आईपीएल खेल भएका छन् । जसमा ४ पटक राजस्थान विजयी भएको छ भने लखनऊले १ खेल मात्र जितेको छ ।
राजस्थानका लागि यशस्वी जायसवालले ७ खेलमा २३३ रन बनाएका छन् । कप्तान सञ्जू स्यामसनले ७ खेलमा २२४ रन बनाएका छन् । बलिङतर्फ वनिन्दु हसरंगा टप विकेट टेकर हुन् ।
उनले ५ खेलमा ७ विकेट लिएका छन् । लखनऊका लागि निकोलस पूरनले ७ खेलमा ३५७ रन बनाएका छन् र यो सिजनको सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । बलिङतर्फ शार्दुल ठाकुर टप विकेट टेकर हुन् । उनले ७ खेलमा ११ विकेट लिएका छन् ।