काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपालमा हुने वित्तीय कारोबारहरू पारदर्शी नभएकै कारण फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई फेरि खैरो सूचीमा राखेको बताउनुभएको छ । सन् २०१४ मा अपराधजन्य गतिविधि, भ्रष्टाचार र आतंकवाद लगायतबाट आर्जित सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएर त्यस्तो सूचीबाट बाहिरिएको नेपालले प्रतिबद्धता अनुरूप कानुनहरू निर्माण गरे पनि तिनको कार्यान्वयन पटक्कै नभएको उहाँले बताउनुभयो ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै पूर्वगभर्नर नेपालले अब नेपाललाई प्राप्त हुँदै आएको अनुदानदेखि लगानीसम्म प्रत्यक्ष प्रभावित हुने जिकिर गर्नुभयो ।
एफएटीएफको ग्रे लिस्टबाट निस्किनका लागि नेपालले सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारका मुद्दाहरूलाई धमाधम टुंगोमा पुर्याउनुपर्ने, वित्तीय कारोबारलाई पारदर्शी बनाउनका लागि बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्वको ठूलो प्रतिबद्धता आवश्यक हुने पनि बताउनुभयो ।
पूर्वगभर्नर नेपालसँगको पूरा अन्तर्वार्ता कार्यक्रम फायरसाइडमा आज राति ९ बजे प्रसारण हुनेछ । साथै यो कार्यक्रम कान्तिपुर टिभीको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।