काठमाडौं । प्रदेश सरकारले आफ्नो औचित्य स्थापित गर्न शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासको योजनाबद्ध विकासमा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम मुख्यमन्त्रीसँग कान्तिपुरको कर्णाली विशेष अंकमा स्थानीय सरकारका जनप्रतिनिधिले समेत प्रदेश सरकारको काम योजनाबद्ध हुन नसकेको गुनासो गरेका हुन् ।
स्थानीय सरकारले समेट्न नसक्ने ठूला आयोजनाहरूमा प्रदेशको ध्यान हुनुपर्ने उनीहरूको सुझाव छ ।
तर प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व नै गम्भीर नभएको प्रदेश सरकारको आरोप छ । कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नै प्रदेश सरकारलाई बेकामे बनाउन प्रमुख राजनीतिक दलका शीर्ष तहका नेताहरू नै सक्रिय भएको आरोप लगाउनुभयो ।
“यदि राज्यलाई प्रदेश नचाइएको हो भने त्यही ढंगले जानुपर्यो । होइन भने संसारको सबैभन्दा कमजोर संघीयता भनेको भारतको हो । भारतको संघीयता पनि हामीभन्दा १०औं गुणा बलियो छ । अहिलेको अवस्थाले यहाँ निर्वाचित हुने मान्छेलाई गाली खुवाउने, अविश्वासिलो बनाउने गरेको छ”, पूर्वमुख्यमन्त्री शाहीले बताउनुभयो ।
मुख्यमन्त्री यामलाल कँडेलले सात वर्षको अवधिमा तीन ठूला दलले पालैपालो नेतृत्व गरे पनि संघीय प्रणालीलाई बलियो बनाउन काम नगरेको गुनासो गर्नुभयो । कानुन निर्माणमा तीन ठूला दल उदासीन बनेको उहाँको बुझाइ छ ।
“सडकमा आउँदा संघीयताको सबैभन्दा पक्षपाती मै हुँ भन्ने, कुर्सीमा गएपछि त्यो कुरा कार्यान्वयन नहुने”, मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाएका बेला मुख्यमन्त्रीले भने स्थानीय तहको भारी प्रदेश सरकारले बोक्न नसक्ने भन्दै कटाक्ष गर्नुभयो । उहाँले समन्वय सहकार्य मार्फत प्रभावकारी काम गर्न स्थानीय सरकारलाई सुझाव समेत दिनुभयो ।
“सबैले के बुझ्नुपर्यो भने सबैले सबैको भारी बोक्न सकिँदैन । हामीले सहजीकरण गर्ने हो, सहयोग गर्ने हो । प्रदेश सरकार पन्छिँदैन । तर स्वास्थ्य, शिक्षा संविधानतः स्थानीय सरकारकै काम हो । गर्न सक्ने नसक्ने कसो गर्ने त्यो छलफलको विषय हो । तर हामी जिम्मेवारीबाट भाग्दैनौं”, उहाँले भन्नुभयो ।
यो कायक्रम बिहिबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।